काठमाडौं– कात्तिकको ८ गते रिलिज हुने भनिएको चलचित्र ‘घामड शेरे’ कात्तिकको २२ गते रिलिज हुँदैछ। कम शो पाएपछि यो चलचित्रको रिलिज मिति सरेको थियो। काठमण्डौंमा आयोजना भएको पत्रकार सम्मेलनमा निर्देशक हेमराज वीसीले कमजोर ओपनिङ हुने देखेपछि चलचित्र सारेको बताएका छन्।
उनले भने ‘चलचित्र व्यापारका लागि नै बनाउने हो। सो कम पाएपछि व्यापार पनि कम हुने देख्यौं। हाम्रो असन्तुष्टी कुनै पनि हलसँग होइन।’ कलाकार निश्चल बस्नेतले पनि चलचित्रलाई व्यापारको रुपमा नै वुझेका छन्। प्रतिस्पर्धात्मक बजारमा कमजोर ओपनिङ हुने देखेपछि चलचित्र सारिएको उनको भनाई छ।
निर्देशक बस्नेतले चलचित्र सरेपछि हल संचालक, वितरकसँग असन्तुष्टी पोख्दै स्टाटस लेखेका थिए। तर, उनले सबैका लागि बोल्दा अरुले साथ नदिएको भन्दा पहिले आफ्नै लागि बोल्नु पर्ने रहेछ भन्दै यसपटक बोलेको तर्क समेत गरेका छन्।
चलचित्र ‘घामड शेरे’ मा नायिका स्वस्तिमा खड्काको पनि मुख्य भूमिका छ। खोला विरुद्ध नै मुद्दा हाल्ने एक घामड पात्रको कथामा यो चलचित्र बनेको छ। रिलिज मिति सरेका कारण लेखिएका स्टाटसले पनि निकै चर्चा पाएको यो फिल्मले दर्शक साथ कत्तिको पाउँछ, त्यसको लागि कात्तिक २२ नै पर्खनु पर्ने हुन्छ।