धनगढी — बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेको ४ मजदुरको उद्धारको लागी काठमाडौंबाट टोली खटाइएको छ।
नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कबिहीन भएका थिए।
अक्सिजन नपुगेका कारण उद्धार कार्यमा कठिनाइ भएको हो। साथै स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको हो।
बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सुरुङको सफाइ गर्न ट्याक्टरसहित छिरेको टोली सम्पर्कबिहीन भएको जानकारी आइतबार साँझ ६ बजे मात्र पाएको र त्यसलगत्तै उद्धार कार्य गरेको बताएका छन्।
सम्पर्कबिहीन भएलगत्तै प्रहरी उद्धारमा खटिए पनि अक्सिजन अभावमा सुरुङ प्रवेश गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए।