दोलखा– दोलखाको शैलुङ गाउँपालिकाले एक दिन गाउँपालिका भर सार्वजनिक विदा दिएको छ। सिन्धुपाल्चोकको सुकुटे बस दुर्घटनामा परी मृत्यु हुनेको शोकमा सोमबार सार्वजनिक विदा दिएको हो।
आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटेनजिकै नदीमा खस्दा ६ बालबालिकासहित १८ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए।
मृत्य भएकामध्ये १५ जना दोलखा जिल्ला र तीमभ्ये पनि १४ जना शैलुङ गाउँपालिकाका मात्रै रहेका थिए। गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शोक विज्ञप्ति प्रकाशित गरी शोकको घडीमा एक दिन गाउँपालिका भर सार्वजनिक विदा दिएको बताएका छन्।
‘यो शोकको घडीमा सिंगो शैलुङ गाउँपालिका शोकमा डुबेको छ। शोकलाई शक्तिमा बदल्न आग्रह गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द रहनेछन्,’ विज्ञप्तीमा लेखिएको छ।