काठमाडौँ, १३ माघ – नेपाली चलचित्र ‘कप्स’ चैत ८ गतेबाट प्रदर्शनमा आउने भएको छ। सम्राट सापकोटाको निर्देशनमा चलचित्र बनेकोे हो।
चलचित्रमा भिलेनका रूपमा सर्वाधिक रुचाइएका नायक तथा भिलेन अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ। चलचित्रले आफ्नो प्रदर्शन मिति चैत ८ गतेलाई तोकेको चलचित्रका प्रस्तुतकर्ता राम शाक्यले जानकारी दिए।
डीएसपी अमन सिंहको भूमिकामा रहेका अनुपले यस चलचित्रमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन्। यसअघि उनी हिरोसँग टक्कर लिने भिलेनका रूपमा चिनिएका थिए। एक्सन र लभस्टोरीको विषयवस्तुमा बनेको चलचित्र ‘कप्स’बाट सन्दीपा लिम्बूले नेपाली चलचित्रमा पाइला टेक्दैछिन्।
चलचित्रमा अनुप र सन्दीपाका साथै अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बल्लुविक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ। ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को निर्माणमा बनेको चलचित्र ‘कप्स’मा सुशान्त प्रजापतिको छायाङ्कन र अष्टनारायण महर्जनको द्वन्द्व रहेको छ। यसमा कविराज गहतराज र शिशिर खातीको नृत्य रहेको छ।
पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने यस चलचित्रको छायाङ्कन टर्कीमा गरिएको हो भने यसमा विजय घिमिरे र स्वयम्भुराज शाक्यको सङ्गीत रहेको छ।