काठमाडौं– मेरीलेबोन क्रिकेट क्लब(एमसीसी) विरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी भएको छ। आज टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको हो।
एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३८ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको हो। नेपालको जितमा विनोद भण्डारीले अर्धशतक हानेका थिए। उनले ५२ रन बनाएका थिए। नेपालका लागि पवन सरार्फले ३३, शरद भेषवाकरले २४, दिपेन्द्र सिंह ऐरीले २३ तथा आरिफ शेखले २३ रनको योगदान दिएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभरमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो। खेलमा उत्कृष्ट हुरुवात गरेको एमसीसीका मध्यक्रमका ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन्। एमसीसीका लागि २ खेलाडीले अर्धशतक बनाए। विल रोड्सले सर्वाधिक ५४ रन बनाए भने अर्का ब्याट्सम्यान बिली गोडलम्यानले ५२ रनको योगदान दिए।
एमसीसीका ब्याट्सम्यानलाई ध्वास्त पार्न नेपालका स्पिनर ललित राजवंशीले उक्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। अर्का बलर पवन सरार्फले पनि किफायती बलिङ गर्दै ४ विकेट हात पार्दा करण केसीले १ तथा अभिनास बोहराले १ विकेट लिए।
यसअघि एमसीसीले शनिबार नेपाली यु–१९ क्रिकेट टोलीसँग एकदिवशीय खेल खेलेको थियो। जसमा एमसीसी ३८ रजले विजयी भएको थियो।