एजेन्सी–इराकको कारबालास्थित इरानी कन्सुलेट कार्यालयमा इराकी प्रदर्शनकारीहरुले हमला गरेका छन्। स्वतन्त्र कारबाला, इरान आउट आउट, भन्दै नाराबाजी गरेका इराकी प्रदर्शनकारीहरुले सीया होली सिटीस्थित इरानी कन्सुलेट कार्यालयमा हमला गरेपछि सुरक्षाकर्मीले भीड नियन्त्रण गर्न हवाई फायर तथा अश्रु ग्यास प्रहार गरेको थियो।
भीड थप बढ्दै गएपछि सुरक्षा फौजले गोली चलाएको थियो। सुरक्षाकर्मीको गोली लागेर तीनजना प्रदर्शनकारीको मृत्यु भएको सुरक्षा श्रोतले बताएको छ। प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुले उक्त क्षेत्रमा इराकको झण्डा झुण्ड्याउँदै इरानी कन्सुलेट कार्यालयमा इँटा, ढुंगा प्रहार गर्नुका साथै टायर बालेका छन्।
तेहरानले इराकको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै केहीले चर्को आलोचनासमेत गरेका थिए। एकजना प्रदर्शनकारीले एएफपीसँग कुरा गर्दै भने, उनीहरुले हवाई फायर गरेका थिएनन्। उनीहरुले प्रदर्शनकारीको ज्यान लिने उद्देश्यले सीधा ताकेर गोली हानेका थिए।
उत्त घटनामा १९ जना घाइते भएको जनाइएको छ।जसमध्ये सातजना प्रहरी छन् । सुशासनको कमी, संस्थागत भ्रष्टाचार, अवसरहरुको कमी, आर्थिक संकटलगायतका मुद्दाको विरोध गर्दै इराकको राजधानी बग्दाद र शीया बाहुल्य प्रान्तमा आन्दोलन सुरु भएको थियो।
पछि अमेरिकासँग मिलेर तेहरानलेसमेत राजनीतिक हस्तक्षेप गर्न खोजेको भन्दै इराकीहरुले प्रदर्शन विरोध गदै आएका छन् ।