कठमाडौं–नेपाली चलचित्रमा भुवन केसी सदावहार नायक हुन्। उनै अभिनित कात्तिकको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’ मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन्। यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन्।
नायक केसी भन्छन्,‘चलचित्रमा म मुख्य नायक होइनँ। यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ। पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ।’ देव भुषालको निर्देशनमा तयार भएको चलचित्रमा भूवनको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ।
चलचित्रको कथा साहिलको वरिपरी घुमेको छ। भूवनले भने,‘यो चलचित्रले राष्ट्रियताको कथा भन्छ। विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा चलचित्र बनेको छ।’ चलचित्रमा कमेडी, प्रेम र देशप्रेम सबै भएकाले पनि दर्शकले मन पराउने विश्वास छ भुवनले भने।
प्रेमराज दाहालको लगानीमा बनेको यो चलचित्रको अहिले तीव्र गतिमा प्रचार प्रसार भईरहेको छ।