एजेन्सी– चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विभिन्न माध्यमबाट नियमित सम्पर्कमा छन्। व्यापार सम्झौताका लागि दुई देशका प्रमुखले कहिले भेटवार्ता गर्लान् भन्ने चौतर्फी चासो भइरहँदा चिनियाँ विदेश मन्त्रालयले सोमबार उनीहरुबीच सम्पर्क भएको जनाएको हो।
ट्रम्पले भने गत शुक्रबार मात्रै सामो समयदेखि प्रतिक्षित व्यापार सम्झौतामा हस्ताक्षर गर्नसक्ने प्रतिक्रिया दिएका थिए। चीनका राष्ट्रपति सिले भने ट्रम्पसँगको भेट कहिले र कहाँ हुने भन्नेबारे प्रष्ट पारेका छैनन्।
विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग सुआङले दुई नेताहरुले नियमित सम्वादलाई जारी राखेको प्रतिक्रिया दिएका थिए। विभिन्न माध्यमबाट उनीहरुबीच सम्पर्क भएको कुरा नियमित ‘ब्रिफिङ’को क्रममा उनले भनेका हुन्।
दुई विश्वशक्ति ठानिएका चीन र अमेरिकाबीचको एक वर्षभन्दा लामो व्यापार युद्धबाट ठूलो नोक्सान भएको पनि टिप्पणी हुँदैआएको छ। पछिल्लो समय दुई देशबीच व्यापार सम्झौताको तयारी भएको छ।