काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टचारको मुद्धा दायर गरेको छ।
टोखा नगरपालिकाका इन्जिनियर दिनेश कुमार पाठक, सोही नगरपालिकाको वडा(६ मा रहेको लायन्स इन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरी र काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं. ६ घर भई लेखापढी व्यवसायी गर्ने जयराम तिमिल्सिनाविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
चौधरीले आफ्नै कन्सल्टेन्सीमा बोलाई ५ लाख रुपैयाँ रकम लिएर घर निर्माण सम्पन्नको प्रमाणपत्र निवेदकलाई उपलब्ध गराएको पाइएको उनले बताए।अनुसन्धानको क्रममा पाठकले चौधरीमार्फत घुस लिन लगाएको र उक्त घुस रकम पाठकले प्राप्त गर्नु अगावै आयोगको टोलीले चौधरीबाट बरामद गरेको कोइरालाले बताए।
इन्जिनियर पाठक, ओभरसियर चौधरी र लेखापढी व्यवसायी तिमिल्सिनासमेतको मिलेमतोमा घरको निर्माण सम्पन्न प्रमाणपत्रका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनीहरुविरुद्ध मुद्धा दायर गरिएको उनले बताए।