काठमाडौं–केही बर्ष अगाडिसम्म नेपाली चलचित्रको व्यापार एकदमै न्यून थियो, यहाँसम्म कि पहिले १ करोड ग्रस कलेक्शन गर्दा अचम्मित हुनुपर्ने अवस्था थियो।
तर, बर्षमा एक वा दुई चलचित्र अहिले लोभलाग्दो १० करोड क्लब ग्रसमा पुग्न थालेका छन्। नेपाली चलचित्रले १० करोड ग्रस गर्नु चुनौतीपूर्ण कुरा त हो, तर असंभव छैन भन्ने केही चलचित्रले देखाइसकेका छन्।
हुनत, निर्माताको आँकडालाई नै सबैले विश्वास गर्नुपर्ने अवस्था छ। यसैले पनि नेपाली चलचित्रको वास्तविक आँकडा सार्वजनिक गर्न समस्या छ। तर, निर्माताको कुरालाई आधार मान्दा आधा दर्जन बढी चलचित्र १० करोड क्लबमा सहभागी हुन सफल भएका छन्।
स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का अभिनित चलचित्र ‘कोहिनुर’ले १० करोड ग्रस कलेक्शन गरेको दाबी निर्माणपक्षको थियो। भलै, यो चलचित्रको कलेक्शनको बिषयमा विवाद छ। तर, पनि १० करोड क्लबमा पुग्ने यो नै पहिलो नेपाली चलचित्र हो।
यसपछि भने केही चलचित्रले यो आँकडा छोएका छन्। चलचित्र ‘छक्का पन्जा’ले यो क्लब छोएन मात्र, नयाँ रेकर्ड समेत कायम गर्यो। निर्माणपक्षका अनुसार चलचित्रले १६ करोड ग्रस कलेक्शन गरेको छ।
यही चलचित्रको दोश्रो सिरिज ‘छक्का पन्जा २’ले १४ करोड ग्रस कलेक्शन गरेको दाबी यसको निर्माणपक्षले गरेको छ। यस्तै, ‘छक्का पन्जा ३’ले इतिहास रच्ने व्यापार गर्यो। चलचित्रले १७ करोड भन्दा माथिको ग्रस कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको छ।
चलचित्र ‘शत्रु गते’ले पनि १० करोड क्लबलाई छोएको थियो। यो चलचित्रले १२ करोड ग्रस कलेक्शन गरेको दाबी यसको निर्माणपक्षले गर्दै आएको छ। यो बर्ष रिलिजमा आएका २ चलचित्रले यो आँकडा पार गरेका छन्। असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले ११ करोड ग्रस कलेक्शन गरेपछि यसको निर्माणपक्षले पत्रकार सम्मेलन नै आयोजना गरेर आँकडा सार्वजनिक गरेको थियो।
असोजको २४ गतेबाट रिलिज भैरहेको चलचित्र ‘छ माया छपक्कै’ले १२ करोडको आँकडा १७ दिनमा पार गरेको दाबी निर्माता रोहित अधिकारीको छ।
यसरी हेर्दा, नेपाली चलचित्र कमै भएपनि लोभलाग्दो आँकडा पार गर्न सफल भएका छन्। चलचित्रको व्यापारिक रफ्तार, मल्टिप्लेक्सको वृद्धी, राम्रा चलचित्र र ब्यानरमाथि दर्शकको विश्वास आदिले पनि चलचित्रको बजार २० करोड माथिको हुन धेरै समय नलाग्ने पक्का छ। चलचित्र उद्योगलाई यसरी माथि उठाउन टेवा पुर्याउन सफल चलचित्रले आगामी दिनमा बन्ने चलचित्रलाई समेत राम्रो पाठ सिकाएका छन्। किनकि राम्रो कामको नतिजा अवश्य राम्रै आउँछ।