काठमाडौँ, १३ माघ – नायक विराज भट्टले चलचित्र निर्देशन गर्ने भएका छन्। अब चलचित्र ‘साङ्लो’मा उनको निर्देशन देख्न पाइनेछ। यसअघि उनले नेपाली चलचित्रमा एकछत्र राज गरेका थिए।
भट्टको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘साङ्लो’का लागि नायिकाको चयन भइसकेको छ। नायक भट्टकै मुख्य भूमिका रहने यस चलचित्रको नायिकामा मिस नेपाल २०१७ की विजेता निकिता चन्दक रहने छिन्।
शुक्रबार नायक भट्ट र निकिताबीच औपचारिक लिखित सम्झौता भएको हो। चलचित्रको क्यारेक्टरले निकितालाई खोजेकाले उनलाई नै अनुबन्धित गरेको भट्टले बताए।
उनले भने, ‘चलचित्रभित्र एकदमै बोल्ड, कन्फिडेन्ट केटीको भूमिका चाहिएको थियो। त्यसका लागि निकिता नै पर्फेक्ट लाग्यो। त्यसैले उनलाई लिएको हुँ।’ चलचित्रमा नायक र नायिकाको भूमिका उत्तिकै रहने उनी बताउँछन्।
नायिका निकिताले यसअघि चलचित्र ‘रानीमहल’मा काम गरेकी थिइन्। उक्त चलचित्रको छायाङ्कन नसकिँदै रोकिएको छ। छायाङ्कन रोकिएको लामो समय भएपछि चलचित्र छोडेको पनि उनले बताइन्।
नायक भट्टले निर्माण गर्न लागेको यस चलचित्र चैतको पहिलो साताबाट छायाङ्कनमा जाने भएको छ। हाल प्रि-प्रोडक्सनको काम भइरहेको र नायक भट्टकै कथावस्तु यसमा समावेश गराइएको छ।