काठमाडौं _ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आइतबार भएको भेटमा नेपालको वैकल्पिक ऊर्जा बढाउन जर्मन सरकारको सहयोग साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो।
त्यसका साथै उनले सोलार र मिनी ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र झण्डै १२ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको माध्यमबाट स्वच्छ ऊर्जामा पहुंच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए।
मन्त्री पुनले भने ‘सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलब्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ।’ मन्त्री पुनले वैकल्पिक ऊर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए।
भेटमा जर्मन राजदूत शेफरले उर्जा र वैकल्पिक ऊर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन इच्छुक रहेको धारणा राख्नुभयो। राजदूत शेफरले वैकल्पिक ऊर्जालाई डेढ अर्ब बराबरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए।
मन्त्री पुनले त्यो सहयोगका लागि धन्यवाद दिँदै वैकल्पिक ऊर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा त्यस सहयोगलाई कार्यान्वयन गर्ने बताए। भेटमा जर्मन सरकारले वैकल्पिक ऊर्जामा गरेको सहयोग, तनहुँ जलविद्युत परियोजनालगायतका विषयमा समेत छलफल भएको थियो।