काठमाडौं– नेपालमा चलचित्र निर्माण पूर्व नाम घोषणा गरेका कतिपय चलचित्र निर्माणको काम शुरु हुन सकेको छैन।
‘पशुपति प्रसाद’ निर्देशक दिपेन्द्र के खनालले काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र घोषणा गरे। चलचित्रको विषयबस्तु अचम्मको थियो। चलचित्रले हिडेर अमेरिका पुग्नेहरुको कथा बोल्ने बताइएको थियो।
निर्देशक खनालले चलचित्र खिच्नको लागि आफूहरु पनि हिडेर नै अमेरिकासम्म पुग्ने बताएका थिए। तर, निर्माण घोषणा भएको लामो समय बितिसक्दा पनि चलचित्र निर्माणको अत्तोपत्तो छैन। अहिले निर्देशक खनाल र निर्माता शर्मिला पाण्डेकाे नयाँ चलचित्र ‘आमा’ निर्माण भैरहेको छ।
यस अघि उनीहरुले चलचित्र ‘घर’ पनि बनाएका थिए। तर, हिडेर अमेरिका पुग्ने चलचित्रको अत्तोपत्तो छैन। चलचित्रको पूर्व तयारी विना नै घोषणा गर्दा यस्तो समस्या आउने गर्छ। चलचित्र ‘प्रेम गीत २’ रिलिजको तयारीमा थियो। त्यसै समय काठमाण्डौंको एक पाँच तारे होटलमा भव्य कार्यक्रम गर्दै निर्माता सन्तोष सेनले आफ्नो नयाँ चलचित्र घोषणा गरे।
नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्रको नाम थियो, ‘दीपेन्द्र सरकार’। निर्माण घोषणा भएको बर्षौ बितिसक्यो। तर, यो चलचित्र निर्माणको कुनै सुरसार देखिदैन। यो चलचित्रको घोषणापछि नायक खड्काले ‘लिलिबिली, रोज, लभ स्टेशन’ चलचित्रमा काम गरिसके । निर्माता सेनले पनि ‘मेरी मामु’ निर्माण गरे।
अहिले निर्माता सेन र नायक खड्काको सहकार्य ‘दीपेन्द्र सरकार’को लागि भएको छैन। उनीहरुको सहकार्यमा ‘प्रेम गीत’को तेस्रो सिरिज तयार हुँदैछ। निर्माता सेन भने दीपेन्द्र सरकार बन्ने कुरामा कुनै शंका नभएको बताउँदै आइरहेका छन्।
बक्स अफिसमा असफल ‘भैरे’लाई निर्माण पक्षले भने सफल भएको दावी गर्यो। उनीहरुले सफलताको दावीमात्र गरेनन्, चलचित्र हिट भएको पुष्टि गर्नको लागि ‘भैरे २’ को निर्माण घोषणा पनि गरे। एभरेष्ट सुर्य बोहराले निर्देशन गर्ने भनिएको यो चलचित्रको निर्माणको पनि अत्तोपत्तो छैन्।
नायिका रेखा थापाले घोषणा गरेका केही चलचित्र छन्, जुन बन्न सकेका छैनन् । रेखाले आफ्नै होम प्रोडक्सनबाट चलचित्र ‘रत्ना’ निर्माण गर्ने घोषणा गरेकी थिइन्। चलचित्रको लागि निर्देशक समेत पक्का भइसकेका थिए। यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्ने भनिएको थियो।
तर, निर्माण घोषणा भएको वर्षौ बितिसक्दा पनि चलचित्र बन्न सकेको छैन। रेखाले आफ्नै व्यानरबाट घोषणा गरेको अर्को चलचित्र हो, ‘कसले चोर्यो मेरो मन फेरि’ पनि बन्ने तयारी छैन। रेखाले घोषणा गर्दै छाडेका चलचित्रको उदाहरण धेरै छन्। बरु, रेखा यतिबेला रेनशा वान्तवा राइलाई लिएर नयाँ चलचित्रको तयारीमा छिन्। यो चलचित्र बन्ने कुरामा पनि धेरैले शंका व्यक्त गरिरहेका छन्।
त्यस्तै, नायक निखिल उप्रेतीले पत्रकार सम्मेलन गर्दै चलचित्र ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को निर्माण घोषणा गरे । निखिलकै मुख्य भूमिका रहने यो चलचित्रको निर्देशन पनि निखिल आफैले गरिरहेका थिए।
चलचित्रको केही दिन छायांकन पनि चल्यो । यो चलचित्रमा अभिनय गर्न बलिउडबाट पनि केही कलाकारहरु नेपाल आएका थिए । तर, चलचित्रको बजेट मंहगो भयो । निखिलसँग भएको पैसा सकियो।
लगानीकर्ताले निखिललाई विश्वास गरेनन्। बजेट नभएपछि उक्त चलचित्रको छायांकन रोकियो। अहिलेसम्म उक्त चलचित्रको पुन छायांकन सुरु हुन सकेको छैन्। निखिल अहिले ‘आयो भैरव’को तयारीमा छन्।
नायक रमित ढुंगानाले नयाँ चलचित्रबाट १८ लाख पारिश्रमिक लिएको समाचार मिडियामा राम्रै छायो। उनले विचल किरातीले निर्देशन गर्ने भनिएको चलचित्र ‘राजा साहेब’बाट उक्त पारिश्रमिक हात पारेका थिए।
केही समय अगाडि पत्रकार सम्मेलन गर्दै चलचित्रको निर्माण घोषणा पनि गरिएको थियो। निर्माण घोषणामा चलचित्र तिहारको छेकोमा रिलिज गरिने निर्माण पक्षले बताएको थियो। तर, रिलिज टार्गेट गरिएको समय बितिसक्दा पनि चलचित्र छायांकनको कुनै सुरसार छैन। चलचित्रमा दरिलो निर्माता नहुदाँ चलचित्रको छायांकन सुरु नभएको हो।
बन्दा बन्दै रोकिएका चलचित्रदेखि घोषणा गरेर छायांकन नै हुन नसकेका चलचित्रको उदाहरण लामो छ। विशेषगरि, चलचित्रकर्मीहरु पूर्व तयारी नै नगरी चलचित्रको घोषणा गर्छन्। कतिपयले भने चलचित्र कसरी बन्छ भन्ने नवुझी नै चलचित्र बनाइरहेका छन्। यी र यस्ता कारणले पनि धेरै चलचित्र बन्न सकेका छैनन्। कतिपयले चलचित्र असफल भएपछि त्यसको सिरिज बनाउन घोषणा गरेर असफल भएको थिएन भनेर पुष्टी गर्न पनि हचुवामा घोषणा गरिदिएका छन्। ‘मुखौटा २, अधकट्टी २, भैरे २’ लगायतका चलचित्रलाई उदाहरणको रुपमा हेर्न सकिन्छ।
चलचित्र गफले बन्ने कुरा नै बन्ने होइन रहेछ। चलचित्र बन्नका लागि पूर्व तयारी र निर्माण टिमविचको साझेदारी आवश्यक छ। तर, यी सबै कुरा नगर्दा र नवुझ्दा धेरै चलचित्र यसै थन्किएका छन्। यसैले एउटा कुरा के वुझन् आवश्यक छ भने, ‘गफैले मात्र चलचित्र बन्दैन’।