विराटनगर–अटोमेटिक पेस्तोलसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन र एक राउण्ड गोलीसहित कटहरी गाउँपालिका– २ का सुरज भनिने बिक्कीकुमार भगत र धनपालथान गाउँपालिका– ७ का मुकेशकुमार मण्डललाई पक्राउ गरेको हो।
बिक्की शनिबार कटहरी– १ सिंघिया खोला पूर्व तर्फ रहेको चौरमा आयोजित मेलाबाट पक्राउ परेका थिए। २३ वर्षिय बिक्कीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले २८ वर्षिय मुकेशलाई पक्राउ गरेको हो।
मुकेश जीवन विकास समाज(लघुबित्त) उदयपुरको रामपुर ठोक्सिलामा फिल्ड सहायाकको रुपमा कार्यरत छन्। बिक्की भने दुई वर्षयता विराटनगरको एक कपडा पसलमा काम गर्दै आएका छन्।
पक्राउ परेका दुबैमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
हतियार बोकेर छठ पूजामा
शनिबार छठ पर्वको अवसरमा कटहरी १ सिंघिया घाट पूर्व तर्फ रहेको खेल मैदानमा सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा करिब ८ बजे हुलहुज्जत गर्दै केही युवाले ढुंगा प्रहार गरे।
ढुंगा प्रहार भएपछि घटना स्थलमा रहेको प्रहरीले संकास्पद व्यक्तिलाई पक्राउ गर्न खोज्दा भागदौड भयो। संकास्पद व्यक्तिहरु भागेपनि बिक्की भने प्रहरीको अगाडी उभिरहेका कारण पक्राउ परे।
प्रहरीले संकास्पद ८ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा विक्कीको साथमा लोड गरिएको अटोमेटिक पेस्तोल,दुई थान म्यागजिन र एक राउण्ड गोली बरामद गरेको मोरङका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
शनिबार राति करिब ८ बजे पक्राउ परेका बिक्कीमाथि अनुसन्धान गर्दा हतियारको कनेक्सन जीवन बिकास समाजको फिल्डसहयाक मुकेशकुमारसँग देखिएको थियो।
अनुसन्धानका क्रममा मुकेशले बिक्कीलाई राख्नकालागि दिएको खुलेपछि प्रहरीले विराटनगर ७ जलजला चोकबाट मुकेश पक्राउ परेका हुन्।
पक्राउ परेका व्यक्तिहरुले छठ पर्वमा घटना घटाउने उदेश्यले आएको हुनसक्ने प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरुको नेपाल र भारतका अन्य व्यक्तिसँग पनि कनेक्सन देखिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार संकास्पद अन्य व्यक्ति माथि पनि अनुसन्धान भइरहेको छ।
लुटपाटमा संलग्नताको आशंका
लघुबित्तका कर्मचारी नै पक्राउ परेपछि प्रहरीले उनीहरुमाथि लघुवित्तमा कार्यरत कर्मचारी लुटपाट गरेको हुनसक्ने आशंकामा पनि अनुसन्धान सुरु गरिरहेको छ।
केही महिना अघि मोरङको कानेपोखरी जंगल क्षेत्रमा लघुबित्तकी कर्मचारी लुटिएकी थिइन्। सुनसरीको धरानमा पनि लघुबित्तका कर्मचारी लुटिएका थिए। दुबै घटनामा संलग्नताको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।