काठमाडौं– डिसेम्बर १४ मा बेलायतमा मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड २०१९’मा सहभागी हुन लागेकी ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठ तिव्र तयारी जुटिरहेकी छिन्। उनी केही दिनमा नै बेलायत उड्दैछिन्।
‘मिस वर्ल्ड’ को स्टेजमा आफूले यसपटक सक्दो प्रस्तुति दिने तयारीमा रहेको अनुष्का बताउँछिन्। अनुष्कालाई जनताको साथको ठूलो आशा पनि छ। किनकी, ‘मल्टिमिडिया अवार्ड’ मा सर्वा्धिक भोट पाउने प्रतियोगी उत्कृष्ट २० मा सोझै पुग्नेछन्। यसका लागि अनुष्कालाई धेरै भन्दा धेरे भोट गर्न आवश्यक छ। अनुष्का, नेपाली जनताबाट सहयोगको अपेक्षा गरिरहेकी छिन्।
उत्कृष्ट २० मा ‘मल्टिमिडिया’ अवार्डबाट पुग्न सकेको खण्डमा त्यो भन्दा अगाडि पुग्नका लागि पनि अनुष्काले योजना बुनेकी छिन्। उनी भन्छिन् ‘सबै योजना त अहिले नै खुलाउन मिल्दैन। तर, यसपटक भने नेपाल किन विजेता बन्नका लागि लायक छ भनेर थुप्रै कारण दिने तयारीमा छु। निर्णायकलाई नेपाल विजेता बन्न किन सक्छ भन्ने सोच्न वाध्य पार्ने योजनामा उनी छिन्।
‘मिस नेपाल’ भैसकेपछि अनुष्काको जीवनमा धेरै परिवर्तन भयो। उनी भन्छिन्,‘विजेता भएपछि सुरुवातका २ महिना त के गर्ने भन्ने अन्यौलमा नै परेँ। तर, यसपछि भने मैले के गर्नुपर्छ भन्ने वुझेँ र अगाडि बढेँ।’
‘मिस नेपाल’ भनेको के रहेछ त, अनुष्काले भन्छिन्,‘एकदमै प्रभावकारी काम गर्न सक्ने पद रहेछ भनेर मैले वुझेँ। यसलाई सबैले आफ्नो ठानेर माया पनि गर्दा रहेछन्। कतिपयले यसलाई आफ्नै ठानेर गाली पनि गर्दा रहेछन्।’
अनुष्का ‘मिस वर्ल्ड’ मा जाँदै गर्दा आफूमा आत्मविश्वास रहेको सुनाउँछिन्। उनले भनिन्छ ‘मसँग आँट छ। यसका लागि मैले मिहिनेत पनि गरिरहेको छु। भाग्यको पनि अलिकती साथ छ, सबैको आर्शिवादले नपुग्न सकिने भन्ने छैन।’
नेपालले ‘मिस वर्ल्ड’को ताज जित्न किन नसकेको होला, अनुष्का भन्छिन्,‘त्यहाँ पुगेपछि हरेक प्रतिस्पर्धीलाई आफू देशको प्रतिनिधित्व गरेर आएको व्यक्ति हुँ भन्ने लाग्छ। त्यहाँ पुगेर कमजोरी के हुन्छ भन्ने त यसै भन्न सकिदैन। तर, तयारी, सहयोग, आत्मविश्वास, देशको साथ कत्तीको छ भन्ने कुराले पनि महत्वपूर्ण भूमिका खेल्छ।’
कमर्सको विद्यार्थी अनुष्का किन ‘मिस नेपाल’ सम्म आइन् त? उनले भनिन्,‘मानिस जीवनमा जोखिम मोल्न चाहन्छ र केही न केही गर्न चाहन्छ। मेरो कामले कसैको अनुहारमा मुस्कान छरोस् भन्ने पनि लाग्छ। यसका लागि मैले मिस नेपालको स्टेजलाई नै महत्वपूर्ण ठानेँ र आएँ।’
सन् २०२० को ‘मिस नेपाल’ को विजेतालाई तपाई के छाडेर जानुहुन्छ, अनुष्काको जवाफ थियो। ‘म एउटा विश्वास थप्न सक्छु, त्यो के भने मिस नेपालका विजेताहरु समाजमा केही प्रभाव पार्ने व्यक्ति हुन्। आजसम्मका विजेताहरुले यो सबै गरिरहनुभएको छ। सबैले आ–आफ्नो क्षेत्रबाट काम गरिरहनुभएको छ र मैले पनि आफुले पाएको जिम्मेवारीमा केही गरेँ भन्ने कुरा छाडेर जान्छु ।’