काठमाडौं — नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोक नाथ प्याकुरेलका अनुसार उनीहरुले बंगलादेशमा हुने इमर्जिङ एसिया कप नखेल्ने बताएका हुन्। यूएईमा हुने टि–१० लिग र इमर्जिङ कपको मिति जुधेकोले पारस र सन्दीप इमर्जिङ एसिया कप खेल्न नसक्ने भएका हुन्। आबुधाबीमा हुने टि–१० लिगमा उनीहरुले अनुबन्ध भएका छन्। पारसले अबुधाबी टिम र सन्दीपले कर्नाटक टस्कर्सबाट खेल्ने छन्।
टि–१० लिग इमर्जिङ एसिया कप तालिकामै नभएको हुँदा अहिले आएर टि–१० लिग खेलको लागि नो अब्जेक्शन लेटर मागेका छन्। यो पटक पारस र सन्दीपलाई टि–१० खेल्न अनुमती दिएको छ। तर आगमी दिनमा भने नेपालको खेल हुँदा नदिने महासचिव प्याकुरेलले जानकारी दिए।
इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ। त्यस्तै टि टेन कात्तिक २९ देखी मंसिर ८ सम्म यूएईमा हुने छ। इमर्जिङ कपमा समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन्। समुह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ रहेको छ।
नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ।