धनुषा–नेपालको धनुषा जिल्लास्थित कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा ल्याउने भनिएको रेलसेवामा ढिलाइ हुने देखिएको छ।
नेपालको रेल विभागले आउँदो महिनादेखि नै सो खण्डमा रेलसेवा सञ्चालनमा ल्याइने बताएको थियो। तर विभागका महानिर्देशक बलराम मिश्रका अनुसार गत मनसुनमा नेपालमा आएको बाढीले बगाइदिएको झन्डै डेढ सय मिटर रेल्वे लिकको पुनर्निर्माण अझै हुन सकेको छ।
उनले भने, “हामीले भारतीय पक्षलाई पत्राचार गरिसकेका छौँ। भत्केको खण्ड पुनर्निर्माण नगरेसम्म उहाँहरूले हामीलाई हस्तान्तरण गर्नुहुन्न। त्यसो भएर रेल गुड्ने समय केही तलमाथि हुन सक्छ।’’ “यद्यपि निर्धा्रित समयभित्रै रेल गुडाउनका लागि हामी प्रयासरत छौँ,’’ महानिर्देशक मिश्रले थपे।
निश्चित
तर जानकारहरूका अनुसार कामको गति र नेपालले गर्नुपर्ने कर्मचारी व्यवस्थापन लगायतका पक्ष हेर्दा रेल गुड्ने समय अझै केही महिना पछाडि धकेलिने ‘निश्चित’ देखिन्छ। रेल विभागका पूर्वमहानिर्देशक अनन्त आचार्यका अनुसार रेलको लिक भत्केको ठाउँको अवस्थामा पुनर्निर्माणमा लाग्ने समय निर्भर गर्नेछ।
नेपालले भारतसँग किन्न लागेको रेलका विशेषता
चर्चा चीन र भारत जोड्ने रेलको, तर नेपालभित्रकै पूर्वपश्चिम रेललाई बजेट छैन।“यदि त्यो ठाउँमा कल्भर्ट अथवा पुल नै निर्माण गर्नुपर्ने भयो भने पाँच–छ महिना लाग्न सक्छ।
माटो मात्रै पुरेर गर्नुपर्ने भए एकदमै द्रुत गतिमा गरिए एक महिनामा पनि काम सकिएला,’’आचार्यले थपे। तर भारतीय पक्षले भत्केको खण्डको पुनर्निर्माण कहिलेदेखि सुरु गर्ने भन्नेबारे अझै जानकारी गराइनसकेको महानिर्देशक मिश्रले बताए।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दूरीमा मङ्सिर महिनादेखि रेल गुडाउने नेपालको योजना थियो। भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ।
विसं २०७४ सालको आश्विनमा रेल विभागका तत्कालीन सूचना अधिकारी तथा वरिष्ठ सिभिल इन्जिनियर प्रकाशभक्त माथेमाले भनेका थिए, “भारतीय पक्षले सन् २०१८ को मार्च–एप्रिलसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।’’
प्रक्रिया
त्यसयता नेपालले रेल गुडाउने भनिएको तिथि पटकपटक सर्दै आएको छ। हुन त कुर्थादेखि जयनगरसम्म गुडाउनका लागि भन्दै विभागले भारतीय कम्पनीसँग रेलको सेट खरिद गर्ने प्रक्रिया नै अगाडि बढाइसकेको छ।
नेपाल आउने रेलको सेट भारतीय कम्पनीमा निर्माणधीन रहेको अधिकारीहरूले बताएका छन्। रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार नेपालले खरिद गर्न लागेको डेमू अर्थात् ‘डीजल इलेक्ट्रिक मल्टिपल यूनिट’ ट्रेन सेट हो।
नेपालले ल्याउन लागेका रेलका विशेषता
–मध्यम दूरीका लागि उपयुक्त मानिन्छ
–प्रतिघण्टा १०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ
–डीजल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्शन मोटर चल्छ
–ड्राइभिङ पावर कार, ट्रेलर कार र ड्राइभिङ ट्रेलर कार गरी एउटा ट्रेन सेटमा पाँचवटा कार हुन्छन् अर्थात् बोलीचालीको भाषामा भन्नुपर्दा एउटा ट्रेन सेटमा पाँचवटा डिब्बा हुनेछन्
–रेलको एउटा सेटमा एक पटकमा १,२०० देखि १,३०० जनाले यात्रा गर्न सक्नेछन्
–एसीजडित एउटा कोच पनि हुनेछ, जसमा ५० देखि ६० जना विशिष्ट व्यक्तिले यात्रा गर्न सक्नेछन्
रेल विभागका अनुसार कुर्थादेखि जयनगरसम्म आठवटा स्टेशन र हल्ट हुनेछन्। अर्थात् आठ स्थानमा रेल रोकिनेछ। नेपालको बर्दिवाससम्म रेल गुडाउन आवश्यक लिक लगायतका पूर्वाधार आफ्नै लगानीमा निर्माण गरिदिने सहमतिबमोजिम भारतीय सरकारले अहिले सो परियोजनामा काम गरिरहेको छ।बीबीसी