काठमाडौं _ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णयलाई कम्युनिस्ट सत्ताको असफल दिशामा जाने संकेतको रूपमा लिएको जनाएको छ।
मंगलबार बसेको पदाधिकारी बैठकले संघीयता कार्यान्वयनको क्रममा सरकारको यो कदम गलत रहेको कांग्रेसको ठहर छ। ‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै गरेको कार्य गलत भएको कांग्रेसको निष्कर्ष छ।
सरकारको यो निर्णय राजनीतिक दृष्टिलेसमेत पूर्वाग्रहपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती गर्नु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रूपमा भएको कांग्रेसले आरोप लगाएको छ।