काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले स्लाभिया प्रागसँग गोलरहित बराबरी खेलेको छ।
मंगलबार राति आफ्नै घरेलु मैदान क्याम्प नाउमा भएको समूह ‘एफ’ को खेलमा बार्सिलोनाले स्लाभियासँग बराबरी खेलेको हो। राम्रो अवसर पाए पनि बार्सिलोनाले गोल गर्न नसक्दा अंक बाँढेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा पनि गोल गर्न सकेन।
त्यस्तै, यसै समूहमा भएको अर्को खेलमा भने जर्मन क्लब बोरुसिया डर्टमन्डले इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलअन्तरले पराजित गरेको छ। पहिलो हाफमा नै दुई गोल अन्तरले पछि रहेको डर्टमन्डले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो हाफमा तीन गोल गर्न सफल भयो।
खेलको पाँचौ र ४० औं मिनेटमा गोल गर्दै इन्टर मिलानले २–० गोलको अग्रता बनाएको थियो। तर यो अग्रता दोस्रो हाफमा कायमै राख्न भने सकेन। खेलको ५१ औं, ६४ औं र ७७ औं मिनेटमा गोल गर्दै डर्टमन्डले इन्टर मिलानलाई ३–२ गोलको जित हात पारेको हो।