काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले नेदरल्यान्ड्सको आयाक्ससँग बराबरी खेल्दै अंक बाँडेको छ। मंगलबार राति भएको समूह ‘ए’ को खेलमा घरेलु टोली चेल्सीले आयाक्ससँग ४–४ गोलको बराबरी खेलेको हो। ९ खेलाडीमा सीमित आयाक्सलाई चेल्सीले पराजित गर्न सकेन।
खेलको दोस्रो मिनेटमा नै चेल्सीका टमी अब्राहमले आत्मघाती गोल गरेपछि आयाक्स १–० गोलले अघि थियो। तर खेलको चौथो मिनेटमा नै पेनाल्टीबाट जोर्गिन्होले गोल गरेपछि चेल्सीले १–१ गोलको बराबरी बनायो। खेलको २० औं मिनेटमा क्विन्सी प्रमिसले गोल गर्दै आयाक्सलाई २–१ गेलको अग्रता दिलाउँदा चेल्सीका किपा एरिजबलागाले खेलको ३५ औं मिनेटमा आत्मघाती गोल गर्न पुगे। योसँगै पहिलो हाफमा आयाक्स ३–१ गोलले अघि रह्यो ।
एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आयाक्सले खेलको ५५औं मिनेटमा अर्को गोल थप्न सफल भयो। योपटक भने भान डी विकले गोल गर्दै आयाक्सलाई ४–१ गोलको फराकिलो अग्रता दिलाए। सेजर अजपिलिकुइताले खेलको खेलको ६३ औ मिनेटमा गोल गर्दै चेल्सीलाई ४–२ को स्थितिमा ल्याए।
डेले ब्लाइन्डले ६८औ र जोइल भेल्टमेनले ६९ औ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आयाक्स ९ खेलाडीमा सीमित भयो। त्यसपछि चेल्सीले दुई गोल थप्दै ४–४ गोलको बराबरीमा टुंग्याएको हो। खेलको ७१ औ मिनेटमा जोर्गिन्होले र ७४औं मिनेटमा रिस जेम्सले गोल गरेका थिए।