धरान– धरानको सर्दु खोलाबाट अवैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेको अवस्थामा ट्याक्टर पक्राउ गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा क्याम्प फुस्रे धरानले सोमबार साँझ को १ त ६९०५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो। उक्त ट्याक्टर डिल्लीशेर राई सञ्चालक रहेको चाम्लिङ ढुवानी सेवाको रहेको सशस्त्र प्रहरी बलका डिएसपी राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
ट्याक्टरका चालक १६ वर्षीय उपेन राई भने फरार रहेका छन्। ट्याक्टरमा ढुङ्गा लोड भएको अवस्थामा भेटिएको छ।धरान(११ र १७ मा पर्ने विष्णुपादुका जाने बाटोमा निर्माण हुँदै गरेको पुलको ५० मिटर मुनी नै ढुङ्गा लोड गरिरहेको अवस्थामा भेटिएको डिएसपी श्रेष्ठले बताए। सइ नरबहादुर राईको नेतृत्वमा खटिएको टोलीले पक्राउ गर्न सफल भएको थियो। प्रहरीलाई देख्नेबित्तिकै फरार भएका उनीहरू केहीले भने ट्याक्टर पञ्चर गराएको डिएसपी श्रेष्ठले बताए।
यसअघि पनि अवैध रूपमा उत्खनन् गरिरहेको समयमा पक्राउ गरी स्थानीय सरकारलाई बुझाइएको थियो। पहिलो पटक भन्दै स्थानीय सरकारले १० हजार रुपैयाँ जरिवाना गरेर छाडेको थियो ।दोस्रो पटक पनि भेटिएपछि २५ हजार रुपैयाँ जरिवाना गर्ने प्रावधान बनाएको छ।
स्थानीय सरकारले अनाधिकृत रुपमा प्राकृतिक स्रोतसाधन उत्खनन् तथा दोहन गरेको पाइएमा पहिलो पटकलाई १० हजार र दोस्रोपटकमा घटनाको प्रकृति हेरेर २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान गरेको छ। चाम्लिङ ढुवानी सेवाको हकमा भने २५ हजार रुपैयाँ जरिवाना गरिएको जानकारी आफूलाई प्राप्त भएको डिएसपी श्रेष्ठले बताए।