एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा चेक रिपब्लिक क्लब स्लाभिया प्राहासँग निराशाजनक बराबरी खेलेको छ। मंगलबार राति भएको खेलमा बार्साले क्याम्प नोउमा निराशाजनक गोलरहित बराबरी खेलेको हो।
खेलमा केहि राम्रा मौकाहरुको सदुपयोग गर्न नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो। पाहुना टोलीलाई दवावमा राखेपनि स्लाभियाको बलियो रक्षापङ्तिसामु बार्सिलोना निरिह बन्यो। जेरार्ड पिकेले १३ औं मिनेटमा राम्रो प्रहार गरेपनि बल पोष्टबाट बाहिरियो।
त्यस्तै खेलको ३५ औं कप्तान लियोनेल मेस्सीको प्रहार क्रसबारमा लागेर बलले जाली चुम्न नसक्दा बार्सिलोनाले खेलमा अग्रता बनाउन सकेन। खेलमा बार्साको केहि राम्रा प्रहारहरु स्लेभियाका गोलरक्षक ओनरेज कोलारले बचाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा प्राहाले गोल गरेपनि गोलले मान्यता पाएन। गोलरहित बराबरीमा पहिलो हाफ सकिएको खेलको दोस्रो हाफमा पनि गोल हुन सकेन।
यस बराबरीसँगै बार्सिलोना समूह ‘एफ’ मा ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा यथावत छ। प्राहा २ अंक जोडेर अंकतालिकाको अन्तिममा छ।