एजेन्सी— मोबाइल, ट्याबलेट र ल्यापटपलगायतमा देखिने विभिन्न समस्यामध्ये यी उपकरणहरु चाँडै तात्नु पनि एक हो। ब्याट्री चाँडै सकिनु, हयाङ्ग हुनुलगायतका समस्याहरुको समाधान प्राविधिकहरुले धेरै पहिला नै गरिसकेका छन्। तर, मोबाइल डिभाईसहरु तात्ने समस्याको समाधान हुन सकेको थिएन।
लामो समयसम्मको अनुशन्धानपछि प्राविधिकहरुले उक्त समस्यालाई कम गर्ने उपकरण बनाएका छन्। हालै तिनीहरुले मोबाइल इलेक्ट्रोनिक्सलाई प्रयाप्त चिसो बनाउने नयाँ कुलिङ डिभाईस बनाएका हुन। लचिलो र सजिलै मोड्न सकिने उक्त डिभाईस धेरै उपयोगी छ। ‘इलेक्ट्रोक्यालोरिक इफेक्ट’ सिद्धान्तमा आधारित यो उपकरण एउटा ठोस कुलिङ डिभाइस हो। उक्त सिद्धान्त कुनैपनि विद्युतिय क्षेत्रमा उपकरणहरुले काम गरिरहेको अवस्थामा त्यसको तापक्रममा एकाएक परिवर्तन गराउने सिद्धान्त हो।
फोलिमर फिल्मबाट बनाइएको यो डिभाईसले कम्प्लेक्स कर्भेचर या मुभिङ सर्फेसका साथ मोबाइल इलेक्ट्रोनिक्सलाई अनुकूलन प्रदान गर्छ। अनुशन्धानकर्ताहरुको एउटा टिमले अमेरिकामा यसको पहिलो सफलतापूर्वक प्रदर्शन पनि गरि सकेका छन्।
अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटी,हेनरी स्याम्युएली स्कुल अफ इन्जिनियरिङ एन्ड एप्ल्याइड साइन्स र एसआरआई इन्टरनेसनलका इन्जिनियर तथा वैज्ञानिकहरुले यो उपकरण बनाएका हुन।
अत्यन्तै पातलो यो उपकरणले स्मार्टफोनहरु र ल्यापटप कम्प्युटरलाई अनावश्यक तातो हुनबाट जोगाउने छ। सामान्य अवस्थामा पनि व्याट्रीका कारण मोबाइल तातेमा यो पोर्टेबल र फ्लेक्जीवल डिभाईसले ५० सेकेण्डमै तापक्रम ३ डिग्री सेल्सियसमा झार्न सक्ने क्षमताको भएको दाबी गरिएको छ। सबै ठाउँमा फिट हुनेगरि यसलाई पातलो र लचिलो बनाइएको दाबी उनीहरुको छ।
‘फिजिक्स ओआरजी’ अनलाईनका अनुसार नयाँ पोलिमर कुलिङ डिभाईसलाई तापको स्रोत र ताप बाहिर निस्कने ठाउँमा तह बनाएर राखिन्छ। जब डिभाईसमा विद्युतधारा प्रवाह हुन्छ, पोलिमर हिट सिंकको सम्पर्कमा पुग्छ। त्यसपछि त्यसका अणुहरु तापका स्रोतहरुसम्म पुग्छ र उपकरणलाई चिसो बनाई राख्न सहयोग गर्छ।
अधिकांश स्मार्टफोन र ट्याबलेट प्रयोगकर्ताहरुको एउटै गुनासा सुनिन्छ, ‘उपकरण चाँडै तात्छ, खासगरि भिडियो हेर्नेबेला यो समस्या बढी हुने गर्छ।’ ती डिभाइसहरुमा आन्तरिक रुपमा मेटल रेडिएटर्सको निर्माण गरिएको हुन्छ, जसले ब्याट्री र कम्प्युटर प्रोसेसर्सबाट ताप शोषण गर्छ। तर उपकरणहरु झनै तात्ने गर्छ। यस्तो अवस्थामा मोबाइल या कम्प्युटर आफै बन्द हुन सक्छ। यति मात्रै हैन, उपकरण धेरै ताते भएमा त्यसमा क्षति पनि पुग्न सक्छ। त्यसका अवयवहरु तातेर काम नगर्ने अवस्था पनि आउन सक्छ। यी र यस्तै समस्याहरुबाट मुक्ति पाउनका लागि कुलिङ डिभाईस साँच्चीकै बरदान सावित हुनेछ।