काठमाडौं — नेपाली कांग्रेसले प्रतिनिधिसभा कास्की–२ का लागि खेमराज पौडेललाई उमेदवार बनाउने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकले पौडेललाई उमेदवार बनाउने निर्णय गरेको हो। नेकपाले सो क्षेत्रमा विद्या भट्टराई, साझा पार्टीले रजनी केसी र विवेकशील नेपाल दलले जमुना आचार्यलाई उमेदवार बनाएका छन्।
कास्की कांग्रेसका नेता एवं सोही क्षेत्रबाट यसअघिको निर्वाचनमा पराजित उमेदवारसमेत रहेका देवराज चालिसेले पौडेललाई उमेदवार टुंगो लगाएको पुष्टि गरेका छन्। सो क्षेत्रबाट निर्वा्चित सांसद रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।
केही समयअघि गौतमले आफू त्यस क्षेत्रबाट चुनाव नलड्ने भनि घोषणा गरेपछि नेकपाको उम्मेदवारका रुपमा अधिकारीकी पत्नी विद्या भट्टराईदेखि पुराना कम्युनिष्ट नेता सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङको नाम पार्टीबाट सिफारिस भएर केन्द्रमा आएको थियो।
विगतका तीन चुनावमा कांग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये ०७० सालको संविधान सभा सदस्य पदका प्रत्यासी सोभियतबहादुर अधिकारीदेखि ०७४ सालको निर्वाचनमा पराजित प्रखरवक्ता देवराज चालिसे र पूर्व क्षेत्रीय सभापति विरेन्द्रमान विजुक्छे लगायत १६ जना प्रत्यासी टिकटको दौडमा थिए।
त्यहि भिडबाट एउटा पुरानो, निस्कपट र निस्कलंकित अनुहार पनि छ त्यो होः खेमराज पौडेल। जसले उपनिर्वाचनमा टिकेट पाएका छन्। देशको सुन्दर नगरी पोखराको अधिकांश शहरी भाग र कास्कीको दक्षिणी भूभागमा फैलिएको उक्त क्षेत्रबाट निर्वा्चित चर्चित नेता रविन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि त्यो क्षेत्र रिक्त रहेको थियो।