नेपालगञ्ज– वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगञ्जमा तीन वटा खेल्दै सिक्ने केन्द्र सञ्चालन हुने भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण भइसकेको छ।
कार्ययोजना निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदल गठन गरिएको थियो। ‘करिब १२ हजार बालबालिका र किशोरकिशोरीहरु विद्यालय बाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्य राखिएको शिक्षा विकास समन्वय एकाइका प्रमुख रामसुरत यादवले बताएका छन्।
उपमहानगरपालिकाको घसियारन टोल, बसुदेवपुर र भवनियापुरमा केन्द्र स्थापना भइसकेको जनाइएको छ। खेल्दै सिक्ने केन्द्रलाई अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने सम्बद्ध वडा कार्यालयले यसको अपनत्वसमेत ग्रहण गरेको छ। श्रम गर्नुपर्ने तर, विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीहरुले केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ।
बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले केन्द्र सञ्चालन गर्न लागिएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताएका छन्। केन्द्रमा विद्यालय छाडेका १० वर्षदेखि १९ वर्ष उमेरका तथा जाँदै नगएका बालबालिका र किशोरकिशोरीहरु विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशील, सूचना तथा प्रविधि, आय आर्जनलगायतका विषयमा ज्ञान दिने गरिएको छ। (रासस)