एजेन्सी— एडोब फोटोसप फोटो इडिटिङको लागि परिचित सफ्टवेयर हो। एडोब कम्पनीले स्मार्टफोनको लागि क्यामेरा एप सार्वजनिक गर्ने भनि गत सोमबार ब्लगमार्फत घोषणा गरेको छ। कम्पनीका अनुसार यो एप आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको हुनेछ। जसका कारण एपले फोटो खिच्दा वस्तु चिन्नुको साथै तस्विरको प्रकाश र रंग संयोजन गरी उत्कृष्ट बनाउनेछ। एआईको प्रयोग गरिएको हुनाले अन्य क्यामेराको तुलनामा यसले बढी सुन्दर तस्विर खिच्ने कम्पनीको दाबी छ।
एडोबका अनुसार धेरै कलाकारहरूले बनाएका विभिन्न खालका फिल्टर पनि क्यामेरामा प्रयोग गरिनेछ। ती फिचरहरू प्रयोगकर्ताले फोटोमा प्रयोग गर्न सक्नेछन्। एडोबले सार्वजनिक गरेका केही स्क्रिनसटमा देखाइए अनुसार यसमा बढी कलात्मक पेन्टिङजस्ता फिल्टरहरु प्रयोग गरिएको छ।