काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउँदै विरोध प्रदर्शन गरेको छ। प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस बागबजार पुगेर कोण सभामा परिणत भएको थियो।
लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै विद्यार्थी संघले यसको विरोध गरेकाे हो। सीमा अतिक्रमण गरी जारी गरेको नक्साको बारेमा सरकारले तत्काल चासो दिएर त्यसको बारेमा अन्तराष्ट्रिय मञ्चलाई जानकारी गराउनुपर्ने विद्यार्थी संगठनको माग छ।
भारतले नक्सामा नेपालकाे भू–भाग समेटेकाेमा विद्यार्थी संघले आपत्ति जनाएकाे छ। विराेध प्रदर्शनमा विद्यार्थी संगठनका संयोजक ऐन महरले भारतले नेपालको भूमि फिर्ता गर्न आग्रह गरेका छन्। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी लिम्पियाधुरा लगायतका भूमि भारतले आफ्नो नयाँ नक्सामा समेटेपछि नेपालमा विरोध चर्कदै गएको हो।
कोणसभामा बोल्दै विद्यार्थी संयोजक महरले नेपालको भूमि जोगाउन रगतको खोला बगाउन तयार रहेको भन्दै सरकारलाई कुटनीतिक पहल गरेर भारतको निर्णय सच्याउन माग समेत गरेका छन्। नेपालले भारतको सार्वभौमिकता र स्वाधिनताको सम्मान गर्ने तर, हेपाहा प्रवृति सहन गर्न नसकिने भन्दै महरले भारत सरकारले नेपालको इतिहाँस हेर्न समेत अपिल गरेका छन्।
जम्मु कश्मीरमा भारतको हस्तक्षेपबारे नेपाली नेताले बोल्न नसक्नु र संयुक्त राष्ट्रसङ्घमा भएको सभामा नेपाली पक्षले सीमा विवादबारे विषय उठाउन नसक्दा अहिले भारतले नेपालको सीमा मिच्न बल गरिरहेकाे छ। विद्यार्थी संघले सरकारले यस विषयमा तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।