विराटनगर– नोबेल मेडिकल कलेजमा नवजात शिशुको मृत्यु भएको छ। सामान्य अवस्थामा जन्मिएको शिशुको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापारबाहीले त्यस्तो घटना भएको आरोप लागाएका छन्।
मेडिकल कलेजले भने दूध सर्किएर वा हाइपोथर्मिया (शरीरको तापक्रम कम भएर हुने चिसोपना) का कारण शिशुको मृत्यु भएको हुन सक्ने बताएको छ। सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीया माण्डवी राईले मंगलबार बिहान सामान्य अवस्थामै दोस्रो सन्तानका रूपमा छोरो जन्माएकी थिइन्। तर मंगलबार २४ घण्टा नै नबित्दै शिशुकाे मृत्यु भएको थियो।
स्वस्थ शिशु जन्मिएको तर चिकित्सकले एक पटक पनि नहेरेका कारण बच्चाको मृत्यु भएको मृतकका आफन्त बताउँछन्। मंगलबार रातिदेखि बच्चालाई असहज जस्तो देखिएपछि बुधबार नर्सलाई सुनाएपनि डाक्टर नभेटिएको बताए। भर्खर जन्मिएको बच्चाका लागि डेढ घण्टासम्म खोजी गर्दा पनि चिकित्सक नभेटिएको उनको गुनासो छ।
अहिले आफन्त र मेडिकल कलेज प्रशासनबीच क्षतिपूर्तिको विषयमा सहमति जुटेको र मिलापत्र भइसकेको बताइएकाे छ।