काठमाडौं– सरकारी कोटामा एमबिबिएस पढेका डाक्टरहरूले अब २ वर्षमात्र सरकारी अस्पतालमा सेवा गरे पुग्ने भएको छ। सर्वोच्च अदालतले सरकारी कोटामा एमबिबिएस पढेका डाक्टरहरूलाई २ वर्षमात्र सरकारी अस्पतालमा सेवा गर्न लगाउन आदेश दिएको हो।
अदालतले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सरकारी कोटामा एमबिबिएस पढेकाहरूका लागि ४ वर्ष सेवा गर्नुपर्ने व्यवस्थाको खारेज गर्न परेको रिटको सुनुवाई गर्दै यस्तो आदेश दिएको हो। उक्त व्यवस्था खारेज गर्न माग गर्दै डाक्टर उज्वल पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सरकारी कोटामा एमबिबिएस पढेकाहरूका लागि ४ वर्ष सेवा गर्नुपर्ने व्यवस्था थियो। सर्वोच्च अदालतले २०७३ साल भदौ ५ गते सरकारी कोटामा पढेका विद्यार्थीले २ वर्ष सरकारी अस्पतालमै सेवा गर्नुपर्ने गरी फैसला गरेको थियो।
बुधबार न्यायाधीश बमकुमार श्रेष्ठले यसअघिको सर्वोच्च अदालतकै फैसलालाई आधार मान्दै २ वर्षमात्र सेवा गरे पुग्ने गरी अन्तरिम आदेश दिएकाे बताइएको छ।