काठमाडौं– पछिल्लो समयका व्यस्त क्रिकेटर, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ घर किनेका छन्। विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा सहभागिता जनाई धमाका मच्चाएका सन्दीपले काठमाडौंको बुढानिलकन्ठमा आकर्षक घर किनेका हुन्।
छोटो समयमै क्रिकेट राम्रो छवि बनाएका सन्दीप क्रिकेटबाटै करोडपति बनेका छन्। हालै मात्र टी–२० क्रिकेट खेल्न धेरै देशको भ्रमण गर्ने खेलाडी बनेका सन्दीप बेलायतको ‘द हन्ड्रेड’ मा डेढ करोड मूल्यमा अनुबन्ध भएका थिए।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्न शुरु गरेदेखि उनी निकै माग गरिएका खेलाडी बनेका छन्। उनी नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य पनि हुन्। अन्डर १९ विश्वकपमा ह्याट्रिक गरेर चर्चामा आएका सन्दीपले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
स्याङजामा जन्मेका सन्दीपको स्थायी बसोबास चितवनमा थियो। काठमाडौंमा घर खरिद गरेपछि उनले बुवा आमालाई पनि यतै ल्याएर राखेका छन्। भव्य सजावट गरिएको घरको मुल्य एकिन नभएपनि ६ करोडको हुनसक्ने अनुमान गरिएको छ।