काठमाडौं– नेपाल भारत सीमा अहिले झनै विवादमा परेको छ। भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, कालापानीलाई समेटेको थियो।
त्यसको विरुद्ध नागरिक समाज, राजनितिक पार्टी तथा विभिन्न निकायले प्रदर्शन गरेका छन्। सरकारले पनि लिखित रुपमा त्यस विषयप्रति आपत्ति जनाइसकेो छ र भारतको उक्त निर्णय स्विकार्य नहुने बताएको छ। बुधबार राजधानीको माइतीघर कण्डलामा भारतको उक्त कदमविरुद्ध विरोध प्रदर्शन भएको छ। काँग्रेसको भातृ संगठन नेविसंघ, नेपालका लागि नेपाली अभियान, अभियन्ता ज्ञानेन्द्र शाहीलगायतले बुधबार छुट्टाछुट्टै प्रदर्शन गरेका हुन्।
उक्त विरोध प्रदर्शनमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफलेसहित विद्यार्थी नेताहरु सुशील भट्ट, उमेश थापा मगर, निली साह, तरुण दलका भागवत रेग्मीलगायत सहभागी भएका थिए। विरोध प्रदर्शनमा नेताहरुले यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने र भारतले सो कदम सच्याउनुपर्ने बताएका छन्।
यस्तै नेपालका लागि नेपाली अभियानका डा सुरेन्द्र भण्डारी, बाल्कृस्ण नेउपाने, सागर खड्कालगायत पनि राष्ट्रिय झण्डासहित प्रदर्शनमा सहभागी भएका थिए। आजै भृकुटीमण्डप क्षेत्रमा सत्तारुढ दल अनेरास्ववियूले पनि भारतले सार्वजनिक गरेको नक्साको विरोधमा प्रदर्शन गरेका थिए।
नेपाल सरकारले विज्ञप्ती निकाल्दै दुइ देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने भन्दै सरकारले एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई अमान्य हुने स्पष्ट पारेको छ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नालापानी क्षेत्रलाई उसको भूभागमा देखाइएको छ भने यस विषयलाई लिएर देशभर व्यापक विरोध प्रदर्शन भइरहेको छ।