एजेन्सी – ब्राजिलका १८ वर्षीय युवा फरवार्ड रोड्रीगोले ह्याट्रिक पूरा गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा रियल म्याड्रिडले गालाटासरेलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा रियलका लागि बेन्जेमाले २ र रामोसले १ गोल थपे।
खेलको चौथो मिनेटमा नै रोड्रीगोले रियल्ली अग्रता दिलाएका थिए। लेफ्ट ब्याक मार्सेलो दिएको क्रसलाई रोड्रीगोले उत्कृष्ट प्रहार गर्दै विपक्षी गोलरक्षक फर्नान्डो मुस्लेरालाई बचाउने अवसर नै दिएनन्। सुरुवाती अग्रता लिएको तीन मिनेट नबित्दै रियलले अग्रता दोब्बर पार्यो। फेरिपनि मार्सेलो र रोड्रीगोकै जोडी मिल्दा युवा फरवार्डले खेलको व्यक्तिगत दोस्रो गोल गरे। यसपटक भने रोड्रीगोले मर्सेलोको क्रसमा हेडरमार्फत गोल गरेका थिए।
खेलको १४ औं मिनेटमा नै रियलले ३–० को अग्रता लिने अवसर पायो। मिडफिल्डर स्टिभन एनजोन्जीले टोनी क्रुसलाई पेनाल्टी क्षेत्रको ठिक भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै पेनाल्टी दिए। कप्तान सर्जियो रामोसले पेनाल्टीको जिम्मेवारी लिँदै पनेन्का प्रहारमा गोल गर्न सफल रहे।

रियललाई पहिलो हाफको अन्त्यतिर भने समस्या आइपर्यो। उत्कृष्ट प्रदर्शन गरिरहेका डिफेन्डर मार्सेलो घाइते हुँदै बाहिरीए। उनको ठाउँमा फर्लान्ड मेन्डी मैदान प्रवेश गरे। यद्यपी पहिलो हाफको अन्तिम मिनेटमा रियलले ४–० को अग्रता भने बनायो। गालाटासरेका डिफेन्डर युटो नागाटोमोले खेलेको गलत पास रोड्रीगोले पाएपछि युवा ब्राजिलियनले तुरुन्तै बेन्जेमालाई पास खेले। बेन्जेमाले सहजै गोल गर्दै रियललाई फराकिलो अग्रता दिलाए।
दोस्रो हाफमा रियलले आफ्नो दबाब कायम नै राख्यो। ८१ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे। ड्यानी कार्भाजलको क्रसमा बेन्जेमाले गोल गर्दै रियलको अग्रता ५–० पुर्याए। खेलको इन्ज्युरी समयमा रोड्रीगोले आफ्नो ह्याट्रिक पूरा गरे। उनले बेन्जेमासँग १–२ पास खेल्दै गरेको प्रहारलाई मुस्लेराले रोक्न सकेनन् र पहिलो ह्याट्रिक पक्का भएको थियो।
रोड्रीगोले रियलका लागि यसक्रममा नयाँ कीर्तिमान पनि कायम गरेका छन्। रियलको इतिहासमा कुनैपनि खेलाडीले ३ मिनेटको अन्तरमा लगातार दुई गोल गरेका थिएनन्। रोड्रीगोले खेलको चौथो र सातौं मिनेटमा गोल गर्दै २–० को अग्रता दिलाएका थिए।
यससँगै रियलले च्याम्पियन्स लिगमा गरेको खराब सुरुवातलाई बिर्साउन सफल भएको छ। सुरुवाती दुई खेलमा १ अंक मात्र जोड्दै पुछारमा रहेको रियल अहिले दोस्रो स्थानमा छ। ४ खेलमा ७ अंक जोडेको रियलले तेस्रो स्थानको टोलीसँग ५ अंकको अग्रता लिएको छ। शीर्षस्थानमा रहेको पीएसजीको ४ खेलमा १२ अंक रहेको छ।

पीएसजीले बुधबार भएको खेलमा क्लब ब्रुजालाई १–० ले पराजित गर्दै शत प्रतिशत जितको यात्रा कायम राखेको थियो । टोलीको जितमा एकमात्र गोल अर्जे्न्टिनी फरवार्ड माउरो इकार्डीले गरे। उनले खेलको २२ औं मिनेटमा कोलिन डाग्बाको पासलाई सदुपयोग गरेका थिए। खेलको ७६ औं मिनेटमा ब्रुजाका एमवाय डियाग्नेले पेनाल्टीमा गोल गर्न नसक्दा ब्रुजा खेल बराबरी गर्नबाट चुकेको थियो।
अब च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को अर्को खेलमा शीर्ष दुई र पुछारका दुई टोली भिड्नेछन् । गालाटासरे र ब्रुजा तथा रियल र पीएसजीबीच खेल हुनेछ। रियलले पीएसजीलाई उक्त खेलमा पराजित गरे दुवै टोलीको नकआउट चरण यात्रा पक्का हुनेछ। पीएसजी भने अर्को चरणमा प्रवेश गरिसकेको छ।