विरेन्द्रनगर — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी–बबई ड्राइभर्सन आयोजनाको सुरुङ निरीक्षण गरेका छन्।
बुधबार उनले १२ दशमलव दुई किलोमिटर लामो सुरुङको एक घन्टा लगाएर निरीक्षण गरेका छन। उनी सुरुङको निकास रहेको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चप्ले पुगि निरिक्षण गरेका हुन्।
सिँचाइ, विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको भेरी–बबई ड्राइभर्सन आयोजनाको बाँध, विद्युत्गृहलगायत संरचना सँगसँगै निर्माण गर्ने प्रक्रिया सुरु गरिएको मन्त्री पुनले बताए । ‘यो आयोजनाको सबै काम एकैचोटी निर्माण भइरहेको छ। कामको तीव्रतामा नै यसको मुख्य आधार हो,’ उनले भने।
मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाहरू प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निगरानी रहेकाले बजेटको अभाव नहुने बताए। ‘राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्रीको निगरानीमा नै रहेका छन। यी आयोजनामा बजेट तथा जनशक्तिको कमी हुन दिइँदैन,’ उनले भने।
भेरी–बबई आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसका लागि खात्तिखादमा जनताको जलविद्युत् आयोजनाअन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर निर्माण थालनी गरिने मन्त्री पुनले बताए। टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत यो आयोजनाको सुरुङ निर्माण गरिएको हो।