काठमाडौं– लण्डन प्रहरीको नियन्त्रणमा रहेका नीरब मोदीले आफूलाई भारत पठाइए आत्महत्या गर्ने बताएका छन्। हिरा कारोबारी एवम् भारतको बैंक घोटाला प्रकरणका एक मुख्य अभियुक्त नीरब मोदी प्रहरीको नियन्त्रणमा छन्।
आफूलाई जमानतमा रिहाइको माग गर्दै आएका नीरबलाइ मंगलबार अदालतमा उपस्थित गराइएको थियो। मोदीले भारतमा निष्पक्ष जाँच हुने विश्वास आफूलाई नभएको हुदाँ यदि भारत पठाइए आत्महत्या गर्ने भनेका हुन्।
भारतले नीरबलाई सुपुर्दगी गर्न बेलायत सरकारसँग माग गर्दै आएको छ। टाइम्स अफ इण्डियाका अनुसार नीरब मोदीले आफूलाई जेलमा तीन पटकसम्म कुटपिट गरिएको समेत बताएका छन्। जेलमै रहेका दुई जना कैदी उनी भएको ठाउँमा आएको र ढोका थुनेर कुटपिट गरेको मोदीको भनाइ छ।
यी सब दलील पेश गरे पनि अदालतमा कुनै असर देखिएको छैन् र उनको जमानतमा रिहाइको माग खारेज भएको समाचारमा उल्लेख गरीएको छ्। योसमेत गरी चार पटकसम्म उनको जमानतमा रिहाइको माग अदालतले खारेज गरेकोे छ।
उनी सात महिनादेखि लण्डनको वाड्सवर्थ जेलमा रहदै आएका छन्। उनी भागेर लण्डन पुगेको बेला सात महिना अगाडि होल्बोर्न इलाकाबाट पक्राउ परेका हुन्। नीरब भारतमा सन् २०१८ मा भएको पन्जाब नेशनल बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त थीए। बैंकबाट करिब १३ हजार करोड भारु घोटाला भएको थियो।,
यसलाई भारतको सबैभन्दा ठूलो बैंक घोटाला मानिन्छ। उनी सन् २०१० मा स्थापना गरिएको नीरब मोदी ग्लोबल डायमण्ड ज्वेलरी हाउसको संस्थापकसमेत थीए।