काठमाडौँ, १३ माघ– गायिका मिलन नेवारको दुईवटा एल्बम सार्वजनिक भएसँगै उनले ‘मिलन च्यारिटी फाउण्डेशन’ घोषणा गरेकी छन्। उनको चौथो एल्बम ‘मिलन यात्रा’ र पाँचाै एल्बम ‘मन रेशम’ सार्वजनिक भएको हो। एल्बमको विमोचन गृहमन्त्री रामबहादुर थापाले गरेका थिए। गायिका मिलनका साथै गायक दीप श्रेष्ठ, गीतकार राजेन्द्र थापा, सङ्गीतकार शक्तिबल्लभ र उनका मातापिताले पनि एल्बम लोकार्पण गरेका थिए।
कार्यक्रममा केही गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो। उक्त एल्बममा गीतकार योगेन्द्रमणि दाहालको एकल शब्द र राजु सिंहको एकल सङ्गीत रहेको छ।
गायिका मिलनले ‘सिङ्गिङ फर सोसाइटी’को उद्देश्यले ‘मिलन च्यारिटी फाउण्डेशन’ शुरु गरेको बताइन्। उनले भनिन्, ‘आफ्नो साङ्गीतिक क्षेत्रबाट हुने आम्दानीको केही रकम फाउण्डेशनमा खर्च गर्छु।’ शुरुमा आफ्नो सहायता शहीद स्मृति आवासीय माध्यमिक विद्यालय, इटहरीमा केन्द्रित गर्ने उनले उल्लेख गरिन्।