एजेन्सी– संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल ट्विटरका दुई पूर्वकर्मचारीले साउदी अरबका लागि जासुसी गरेको आरोप लगाइएको छ। बुधवार सान फ्रान्सिस्कोमा सार्वजनिक अभियोगअनुसार साउदी गुप्तचरहरूले नाम चलेका साउदी आलोचक तथा अन्य दुई प्रयोगकर्ताका व्यक्तिगत जानकारी मागेका थिए।
वाशिङ्टन पोस्टले छापेको अदालतका कागजपत्रमा उल्लेख गरिएअनुसार अमेरिकी नागरिक अहमद अबुआमो र साउदी नागरिक अली अल्जाबराह आरोपित छन्। बीबीसीले जनाए अनुसार अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएकोे छ।
अबुआमोलाई बुधवार सीयाटलस्थित अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन्। अबुआमोविरुद्धको अर्को सुनुवाइ शुक्रवार हुनेछ। फर्जी कागजपत्र बनाएको र सङ्घीय अनुसन्धान निकाय एफबीआईसमक्ष गलत बयान दिएको पनि उनीमाथि आरोप लगाइएको छ।
सन् २०१५ मा ‘मिडिया पार्टनरशिप म्यानेजर’ पदबाट काम गर्दै गर्दा अबुआमोले जागिर छोडेका थिए। अली अल्जाबराह र अहमद अल्मुतैरी दुवै जना हाल साउदी अरबमा रहेको विश्वास गरिएको छ।