एजेन्सी- हेर्दा एउटा ठूला किरा जस्तो देखिने यो रोबोटलाई डेजी नाम दिएको छ।
डेजी रोबोट फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च, फेयर ग्रुपको नयाँ रोबोट विज्ञान परियोजना अन्र्तगत पर्दछ। गत गर्मीयाम देखि नै फेयरका वैज्ञानिकहरुले रोबोटहरुलाई आफैँ हिँड्न र वस्तुहरु समात्न सिकाइरहेका छन्।
उनीहरुको लक्ष्य ती रोबोटहरुलाई मान्छेकै शैलीमा वातावरण मार्फत नयाँ क्षमता विकास गराउनु रहेको छ।यसले आर्टि्फिसियल इन्टेलिजेन्स, एआइका अनुसन्धानकर्ताहरुलाई धेरै पक्षमा मद्दत पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
जस्तै एआइका गतिविधिमा सुधार ल्याउन लागि परेका फेसबुक लगायत विभिन्न कम्पनीले शब्दहरु एउटा भाषाबाट अर्कोमा अनुवाद गर्न, तस्बिरबाट मानिस र वस्तुहरुको पहिचान गर्ने प्रविधिको विकास गर्न खोजिरहेका छन् जुन फेसबुकका लागि पनि उपयोगी साबित हुनेछ।

यसका साथै डेजी रोबोटसँग आबद्ध फेसबुक अनुसन्धानकर्ताहरुले औँलामा सेन्सर भएका रोबोटमाथि पनि काम गरिरहेका छन्।
यसका लागि उनीहरुले मसिन–लर्निङ टेकनिक ‘सेल्फ–सुपरभाइज्ड लर्निङ’ प्रयोग गरिरहेका छन्। यस अन्तरगत रोबोटहरुले के काम कसरी गर्ने भनेर सबै तरिका आफैँले पत्ता लगाउनुपर्छ।
यो अनुसन्धान अझैपनि सुरुवाती चरणमै छ। जसमा यिनले पहिले आफ्नो हात कसरी चलाउँदा के हुन्छ भन्ने पत्ता लगाउनुपर्छ। रोबोटले आफ्ना प्रत्येक कदमको परिणामबारे बुझ्न जरुरी भएकाले नै उनीहरुलाई यसरी आफैँ काम गर्न लगाइएको फेयरका वैज्ञानिक फ्रान्जिस्का मेइरले सिएनएनसँग बताएकी हुन्।
हामी मानव भएकाले यस्ता कुरा आफैँ सिक्न जान्न सक्छौँ अब हामीले रोबोटहरुलाई पनि त्यसैगरी आफैँ बुझ्न सिकाउनुपर्ने उनले बताइन्। यसकासाथै रोबोटहरुलाई सबै काम आफैँ सिक्न लगाइरहँदा यस प्रक्रियाको गति पनि बढेकामा वैज्ञानिकहरुले आश्चर्य जनाएका छन् ।