काठमाडाैं— पूर्वी नेपालका साना निजी तथा सहकारी चिया उत्पादकहरूले चिया प्रशोधनका लागि चिनियाँ उपकरण प्रयोग गर्न थालेपछि आफ्नो उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिएको बताएका छन्।
सन् २००९ देखि चिनियाँ उपकरण ल्याएर प्रशोधन गरेपछि ग्रीन, ह्वाइट र उलङजस्ता स्पेशियालिटी टी को उत्पादन भएको र ती चिया भारतबाहेक अन्य बजारमा पुग्दा फाइदा पुगेको चिया उद्योगी डिल्ली बाँस्कोटाले बताए।
बाँस्कोटा भन्छन्, "सन् २००९ अघि र त्यसपछिको बजार फरक छ। चिनियाँ उपकरण ल्याएर चिया प्रशोधन गर्न थालेपछि नेपाली चियाले अन्तर्राष्ट्रिय बजार पाउन थाल्यो।" त्यसअघि नेपालमा भारतीय उपकरण प्रयोग ब्ल्याक् अर्थोडक्स चिया अर्थात् कालो चिया धेरै उत्पादन हुने गरेको थियो। अन्य चियाको उत्पादन अतिन्यून थियो।
अहिले पनि समग्रमा भारतीय बजारमा खपत हुने कालो चियाकै उत्पादन बढी भइरहेको छ। अहिले पूर्वी पहाडमा वार्षिक झन्डै ६० लाख केजी चिया उत्पादन हुने र त्यसमध्ये १५ लाख केजी चिया विदेश निर्यात हुने गरेको बाँस्कोटा बताउँछन्।
नेपाली चिया ४० प्रतिशत आन्तरिक खपत र ६० प्रतिशत विदेश निर्यात हुने गरेको छ। विदेश निर्यातको झन्डै १० प्रतिशत मात्र भारतबाहेक तेस्रो मुलुकमा निर्यात हुने गरेको चिया निर्यातकर्ताहरू बताउँछन्।
सानामा चिनियाँ उपकरण
चिया उत्पादनका लागि पूर्वी नेपालका इलाम, पाँचथर र धनकुटा जिल्ला प्रख्यात मानिन्छन्। ती जिल्लाहरूमा १०० साना चिया कारखाना छन्।
ती चिया कारखानामा सबै चिनियाँ उपकरण जडान गरेर चिया प्रशोधन भइरहेको केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेडका अध्यक्ष गोविन्द दाहालले बताए। उनले भने, "अहिले पहाडका चिया प्रशोधन कारखानामा चिनियाँ उपकरण नै जडान भएका छन्।"
सानालाई भारतीय उपकरण महँगो
कम लगानीमा प्रशोधन कारखाना स्थापना गर्नका लागि भारतीय उपकरण महँगो पर्ने चिया उद्योगीहरुले बताएका छन्।
इलामको जस्बिरेमा रहेको आफ्नो कारखानामा चिनियाँ उपकरण राखेर चिया विदेश निर्यात गरिरहेको बाँस्कोटा बताउँछन्। उनले भने, "उच्च मूल्यमा विदेशमा बिक्ने चिया चिनियाँ उपकरणले प्रशोधन गर्ने हो।"
"अहिले हाम्रो चिया चीन, जर्मनी, क्यानडा, अस्ट्रेलिया र डेनमार्कमा निर्यात हुन्छ।" चिया प्रशोधन गर्न प्रयोग हुने उपकरण आयात राजु शेर्माका अनुसार भारतीय उपकरण साना उद्योगका लागि महँगा हुन्छन्।
दैनिक २०० केजीजति हरियो पत्ती प्रशोधन गरेर ग्रीन टी बनाउने कारखानाका लागि झन्डै १० लाख रुपैयाँ मूल्य पर्ने चिनियाँ उपकरण उपयुक्त हुने उनको भनाइ छ।
सरकारी प्रयास
सरकारी स्तरबाटै चियामा चिनियाँ उपकरण भित्र्याएर नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले केही समयअघि बीबीसीलाई बताएका थिए। अहिले कृषि मन्त्रालयले अन्तिम छलफलका लागि चिनियाँ टोलीलाई नेपालमा बोलाउने तयारी गरिरहेको उनले बताए।
उनले भने, "यही समयमा चिनियाँहरू आएर नेपाली चियामा काम गर्न थाल्छन् भन्न त सक्दिनँ। तर म अन्तिम कुराकानीका लागि उनीहरूलाई बोलाउने तयारीमा लागेको छु।" सरकारले चिनियाँ उपकरण ल्याएर प्रशोधन गर्ने मात्र कुरा सरकारले नगरेको मन्त्री खनालले बताए।
उनले भने, "चीनमा यस्ता चियाका जात छन् जुन अन्य कतै पनि छैन। त्यस्ता जात हामीकहाँ पनि खेती गर्न सहयोग गर्न मैले अनुरोध गरेको छु।" "हामीले निकै ठूलो जग्गा उपलब्ध गराउनु पर्ने हुन्छ। जसको लागि म तयारी गरिरहेको छु।" बीबीसी