उदयपुर– त्रिभुवन विश्वविद्यालयले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिका साट्ने गरेको खुलेको छ । परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ।
उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन् । यो घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।
त्रियुगाकी विद्यार्थी (क)ले शिक्षा संकाय स्नातक दोस्रो वर्षको करिकुलम एन्ड इभ्यालुएसन (३१४) को परीक्षा २० असार ०७५ मा दिइन । गाईघाटकै बरुवा क्याम्पसकी (ख)ले व्यवस्थापन संकाय स्नातक दोस्रो वर्षको फन्डामेन्टल अफ मार्के्टिङ (२१४) को सोही वर्ष १५ साउन र फन्डामेन्टल अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट (२१६) को १७ साउनमा परीक्षा दिइन् । दुवैको परीक्षा केन्द्र परेको थियो त्रियुगा क्याम्पस।
(क) का लागि यो परीक्षा अन्तिम थियो । फेल भए पुनः परीक्षा दिन पाउने अवसर थिएन। (ख) पनि जागिरका लागि जुनसुकै हालतमा पास गर्ने जोडमा थिइन्। तर, कमजोर तयारीका कारण पास हुन सक्ने विश्वास दुवैलाई थिएन। त्यसैले उनीहरूले परीक्षाअघि नै पास हुने ‘सूत्र’ खोजेका थिए । घुस दिन सके पास गराइदिने व्यक्ति पनि भेटाए। उनी थिए परीक्षा केन्द्र रहेको त्रियुगा क्याम्पसकै प्रशासन सहायक तेजनारायण चौधरी ।
चौधरीको ‘सेटिङ’ पनिका बल्खुसम्म थियो । पनिकाका लेखा अधिकृत कमल दाहालसँग उनको निकट सम्बन्ध थियो । दाहालले योजनामा साथ दिने विश्वास चौधरीलाई दिए। त्यसपछि चौधरीले दुवै छात्रालाई आफ्नै घरमा बोलाएर सक्कली प्रश्नपत्रअनुसार नयाँ उत्तरपुस्तिकामा उत्तर लेख्न लगाए।
परीक्षा दिइसकेका दुवै छात्राको सक्कली उत्तरपुस्तिका अन्य परीक्षार्थीको उत्तरपुस्तिकासँगै प्याक भएर लाहाछाप लाग्यो। नक्कली उत्तरपुस्तिका भने चौधरीको साथमा थियो। सेटिङ मिलाएर केन्द्रबाट उत्तरपुस्तिका पनिका बल्खु ल्याउने जिम्मा चौधरीले नै लिए। पनिकामा चौधरीको भेट दाहालसँग भयो। दुवै मिलेर बल्खुमा उत्तरपुस्तिकाको पोको फुकाए।
दुई छात्राका सक्कली उत्तरपुस्तिका निकाले । विषय, सिम्बोल नम्बर र परीक्षा नियन्त्रकको आधिकारिक छापलगायत रहेको सक्कली उत्तरपुस्तिकाको सबै भित्री पाना निकालेर नक्कली उत्तरपुस्तिका घुसाए र स्टिज गरिदिए। फेरि यी दुई उत्तरपुस्तिकालाई सबै रहेको पोकोमै मिसाए। उत्तरपुस्तिका जाँचकीकहाँ गयो । नतिजा आउँदै (क)ले ४१ तथा (ख)ले ५३ र ५९ नम्बर ल्याएर पास भए।
कार्यकक्ष सर्दा पोल खुल्यो
केही महिनाअघि पनिकाका लेखा अधिकृत कमल दाहालको कार्यकक्ष परिवर्तन भयो। त्यतिवेला उनका फाइल अर्को कोठामा लानुपर्ने भयो। घुस खाएर परीक्षा पास गराइएका उदयपुरका दुई छात्राका सक्कली उत्तरपुस्तिका भने टेबुलको घर्राबाट निकाल्न बिर्सिए। नयाँ कर्मचारीलाई कार्यकक्ष व्यवस्थापन गर्ने क्रममा ती उत्तरपुस्तिका भेटिए । बदमासी भेटिएपछि गत भदौमा अख्तियारमा उजुरी पर्यो ।
अख्तियारले पनिकामा छापा हान्यो। कार्यालयको गोप्य शाखाबाट दुवै छात्राको उत्तरपुस्तिका बरामद गर्येा। ती कापीका नम्बर भने त्रियुगा क्याम्पसमै पुगिसकेको जानकारी पायो। अनुसन्धानपछि अख्तियारले घुस खाएर नक्कली उत्तरपुस्तिका लेखाई पास गराएको तथ्य फेला पारेको छ।
चौधरी र दाहाल अख्तियारको हिरासतमा, छात्रा फरार
अख्तियारले आफ्नो बदमासी पहिल्याएको थाहा पाएपछि त्रियुगा क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरीले भाग्ने प्रयास गरे, तर उनी सफल भएनन्। तीन साताअघि पक्राउ गरेर उनलाई अख्तियारको हिरासतमा राखिएको छ। पनिकाका लेखा अधिकृत कमल दाहाललाई पनि अख्तियारले नियन्त्रणमा लिएर हिरासतमै राखेको छ। दुवै निलम्बित छन्। छात्राहरू भने फरार रहेको अख्तियारले जनाएको छ।
चौधरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको दबाबमा नक्कली उत्तरपुस्तिका पनिकामा बुझाएको बयान अख्तियारलाई दिएका छन्। तर, उनले झुट बोलेको अख्तियारको दाबी छ।
गिरोह नै सक्रिय रहेको अख्तियारको आशंका
नक्कली उत्तरपुस्तिका लेखाएर पास गराउने अनियमिततामा गिरोह नै लागेको अख्तियारको आशंका छ। यस विषयमा अख्तियारले विस्तृत छानबिनसमेत गरिरहेको छ। ‘यस्तो प्रवृत्ति धेरै अघिदेखि नै थियो, अहिले उजागर भएको मात्र हो,’ अख्तियार स्रोत भन्छ।
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइराला भन्छन्–अनुसन्धान भइरहेको छ। उत्तरपुस्तिका परिवर्तन गरेर बदमासी गरेको विषयमा आयोगमा अनुसन्धान चलिरहेको छ । थप जानकारी अनुसन्धानपछि मात्रै दिन सकिन्छ।