काठमाडौं– भारतले सार्वजनिक गरेको राजनितिक नक्सामा नेपालको भू–भाग समेटिएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। नेपाली भूमिमाथि हुने अतिक्रमण स्विकार्य नहुने कांग्रेसले जानकारी दिएको छ।
बिहिबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरेर यस विषयमा कांग्रेसको घोर आपत्ति रहेको बताएका छन्। फोनमा देउवाले राजदूतसँग कालापानी र लिपुलेक नेपाली भूमि भएको स्पष्ट पारेको बताइएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार देउवाले देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण गराएका छन्। उनले सीमा विषयमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्।
नेपाली कांग्रेसले सीमा विवादलाई कूटनीतिक माध्यमद्वारा सुल्झाउन सरकारलाई सुझाव दिएको छ। यसबारे साझा मत बनाउनुपर्ने कांग्रेसको प्रतिक्रिया छ।