काठमाण्डौ–प्रदेश तथा प्रतिनिधिसभाको चार क्षेत्रमा हुने उपनिर्वाचनमा ६५ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा भक्तपुर क्षेत्र नम्बर १ को (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को (ख), दाङ क्षेत्र नम्बर ३ को (ख) मा १४ मंसीरमा हुने उपनिर्वाचनका लागि ६५ जनाले उम्मेद्वारी दर्ता गराएका हुन।
प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि २२ जनाले उम्मेदवारी दर्ता गराए। मनोनय दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाकी विद्या भट्टराई, नेपाली कांग्रेसकातर्फबाट खेमराज पौडेल, साझा पार्टीकी रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङलगायतका छन्। निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा २२ जनाले मुख्य निर्वाचन कार्यालय कास्कीमा मनोनयन दर्ता गराएको उल्लेख छ।
यस्तै भक्तपुर क्षेत्र नम्बर १ को (क) का लागि १९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। नेकपाका देवीप्रसाद ढकाल, नेपाली कांग्रेसका कृष्णलाल भडेल, समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, साझा पार्टीका सुरज प्रधानले मनोनयन दर्ता गराएका हुन्।
बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को (ख)मा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, राप्रपाका गणेशबहादुर कुँवर, नेपाली कांग्रेसका जीतबहादुर शेरचन लगायतका १० जनाले मनोनयन दर्ता गराएको विज्ञप्तीमा उल्लेख छ।
दाङ क्षेत्र नम्बर ३ को (ख) मा नेपाली कांग्रेसका केशवराज शर्मा, नेकपाकी बिमलाकुमारी खत्री, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राप्रपा संयुक्तका छोटीलाल थारु, समाजवादीका डिल्लीबहादुर डाँगी, साझा पार्टीका शिवकुमार चौधरी, लगायत १४ जनाले मनोनयन दर्ता गराएका छन् ।रासस