काठमाडाैं — सन् १९९९ को अन्त्यतिर काठमाण्डूबाट भएको भारतीय विमान अपहरणको घटना तथा भारतीय भूभागभित्र भएका अन्य केही घटनापछि भारतीय सुरक्षा निकायको आतङ्कवादीहरूले नेपाली भूमि प्रयोग गरेको आरोप लगाएका छन्।
यो साता फेरि नेपालको अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको खुला सीमामा सुरक्षा व्यवस्था नाजुक भएको निष्कर्ष निकालिएको अमेरिकी प्रतिवेदन सार्वजनिक भएको छ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आतङ्कवादसम्बन्धी प्रतिवेदनले नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने खतरा औँल्याएको छ। प्रतिवेदनमा भारतको आतङ्कवादी समूह इन्डीअन मुजाहिदीनले नेपाललाई आफ्नो अखडाको रूपमा प्रयोग गरेको उल्लेख छ।
नेपाल सन्दर्भमा हामीले नेपाल सरकारको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका पूर्व महानिर्देशक देवीराम शर्मासँग कुराकानी गर्दै सबैभन्दा पहिले सोधेका थियौँ - अमेरिकी प्रतिवेदनले नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूको चलखेलको केन्द्र बन्न सक्ने खतरा किन औँल्यायो? उनले अमेरिकी आकलन कुनै प्रमाणमा आधारित नभएकोले त्यसलाई नेपालले स्वीकार गर्न नसक्ने बताए। बीबीसी