काठमाडौं — एसिया कोअपरेसन र अजरबैजानको सिनामल्लक कम्पनीबीच सहमति भएको छ। नेपालमा इगभर्नेन्सको क्षेत्रमा संभाव्यता अध्ययन गर्ने विषयमा समझदारी भएको हो।
एसिया कोअपरेसनका अध्यक्ष सुनील केसीका अनुसार दुवै कम्पनीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको डिजिटल नेपाल क्याम्पेनलाई प्रवद्र्धन गर्नेछन्।
अजरबैजानको बाकुमा दुवै कम्पनीबीच ई–भिसा सोलसुन, डेटा सेन्टर, ई–सिग्नेचर, फ्लिट म्यानेगमेन्ट सिस्टम, डेटा म्यानेजमेन्ट सिस्टमको कार्यान्वयनको जस्ता विषयहरूमा संभाव्यता अध्ययन गर्ने सम्झौता भएको कम्पनीले जनाएको हो।
जर्जिया, कीर्गिजस्तान, संयुक्त अरब इमिरेट्स, रुस र अमेरिकामा कार्यालय रहेको सिनामल्लक सन् १९९४ मा स्थापना भएको कम्पनी हो। ‘सिनमल्लकको सहकार्यबाट ई–गभर्नेन्सको क्षेत्रमा सहयोग गर्नेछ र त्यसकै माध्यमबाट ई–गभर्नेन्स र टेलिकम्युनिकेसनको क्षेत्रमा विदेशी लगानी पनि आउने छ,’ केसीले बताए।