जनकपुरधाम– ठगी आरोपमा पक्राउ परेका सहयोगी विकास बैंक लिमिटेड जनकपुरधामका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादव ‘दिपु’ लाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।
जिल्ला अदालतत धनुषाले जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा आरोपित दिपुलाई पुर्पक्षका लागि जेल चलान गरेको हो। दिपुले गत असोज २९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा गएर आत्मसमर्पण गरेका थिए।
यस्तो थियो घटना
बैंकबाट कर्जा लिन राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा धनुषा जिल्ला अदालतले गत साउनमा दिपुलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने लालबाबु रौनियारले करिब ८ वर्ष पहिले महोत्तरी जिल्लाको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा जनकपुरस्थित सहयोगी विकास बैंकमा धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए।
तर केही वर्षपछि सो ऋण चुक्ता गरी पीडित लालबाबु रौनियारले सो जग्गा फिर्ता लिनका लागि बैंकलाई ७३ लाख रुपैयाँ भुक्तानी गर्दा पनि जग्गा फिर्ता नपाएपछि पीडितले ६ वर्ष पहिले बैंकका सञ्चालक यादव माथि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए।
पीडित रौनियारले ऋण लिन राखेको धितोलाई सञ्चालकले २ करोड ७० लाख रुपैयाँमा बेचेका थिए। पीडितले बैंकमा गएर जग्गा फिर्ता गरिदिन गुहार गरेतापनि फिर्ता नदिएपछि रौनियारले अदालतमा मुद्दा दायर गरेका थिए।