काठमाडौँ, १३ माघ – निर्देशक सुदर्शन थापाको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक निर्माणको घोषणा गरिएको छ। यो थापाको ११औँ चलचित्र हो। राजधानीमा आइतबार आयोजत कार्यक्रममा निर्माण टिमले पत्रकारमाझ कलाकार र प्रविधिकहरूको नाम सार्वजनिक गरेको छ। चलचित्रको छायाङ्कन यूकेमा हुनेछ।
चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नवनायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ। यसअघि नायिका पूजाले नायक आकाशसँग चलचित्र ‘रामकहानी’मा काम गरिसकेकी छन्। सोनम भने चलचित्र क्षेत्रमा नयाँ अनुहार हुन्।
कार्यक्रममा पूजाले ‘सम्हालिन्छ कहिले मन’मा दर्शकलाई ‘मिस’ भइरहेको ‘प्रेमगीत’को ‘गीत’ क्यारेक्टरभन्दा पनि रमाइलो रहेको बताउँदै भनिन्, ‘मलाई यसअघिका चलचित्रमा भन्दा विल्कुलै फरक देख्नुहुनेछ।’ उनको आफ्नो रोजाइमा सोनम रहेको पनि बताइन्।
त्यस्तै आकाशले आफूलाई विश्वास गरेर दोस्रो पटक पनि यस चलचित्रमा रोजेकोमा निर्देशकलाई धन्यवाद दिए। उनले भने, ‘म आफ्नो भूमिकालाई न्याय गर्न कुनै कसर राख्ने छैन। र, फेरि पनि दर्शकको मायाँ पाउनेमा विश्वस्त छु।’त्यसैगरी अर्का नवनायक सोनमले चलचित्रका लागि उत्कृष्ट काम गर्न आफूले मेहनत गर्ने बताए।
पूर्ण लभस्टोरी कथामा निर्माण हुने यस चलचित्रमा आकाश, पूजा, सोनमका साथै गौरी मल्ल, सरोज खनाल, धीरेन शाक्य लगायतका कलकारको अभिनय रहनेछ। महेश दवाडीको कथामा आधारित भएर चलचित्र निर्माण हुनेछ भने यसमा अर्जुन पोख्रेल, सुगम पोख्रेल र ताराप्रकाश लिम्बूको सङ्गीत रहनेछ।
अमितकुमार बस्नेतको निर्माण लागतमा बन्न लागेको चलचित्रलाई सौरभ लामाले खिच्नेछन्। त्यस्तै यस चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ भने परि राना र अजितकुमार थापा सहनिर्माता तथा अङ्कित गौतम कार्यकारी निर्माता रहेका छन्।