काठमाडौ– नेपालको लिपुलेक, कालापानी लगायतको भुमि मिचेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपालभर विरोध भइरहेको छ। सत्तापक्ष र विपक्ष नभनि सम्पुर्ण राजनीतिक दलहरुले राष्ट्रिय सहमति गरेका छन्। भारतीय नक्सा नेपाल सरकारले अस्वीकार गरिसकेको छ। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विरोध जनाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदुत मञ्जिब सिंह पुरीलाई फोन गरेर कालापानी, लिपुलेक नेपालको भएको भन्दै स्पष्ट पार्नुभएको छ। अहिले केही मधेशवादी दलहरु बाहेक सबैले भारतीय कदम प्रति विरोध जनाएका छन्। अनेरास्वियु, र नेवि संघ पनि सडकमा निस्केको छन्। नेपालमा बढ्दो विरोधपछि भारतले आफुहरुले नक्सामा देखाएको भुभाग नेपालको नभई भारतको भएको बताइसकेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवत्ता रवीश कुमारका अनुसार कालापानी, लिपुलेकलाई भारतले वर्षौ देखि आफ्नो मान्दै आएको छ। आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघ लगायत अन्य युवाहरुले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन्।
उनीहरुले भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन्। यस्तै, सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ। देशका विभिन्न क्षेत्रमा भारतीय यस कदमको खुलेरै विरोध भइरहेको छ।