एजेन्सी – राजस्थानको भरतपुरस्थित पौश कोलोनी सूर्या सिटीमा बिहीबार साँझ एक महिला डाक्टरले डाक्टर पतिकी प्रेमिकाको घरमा आगो लगाएर बाहिरबाट ढोका बन्द गरिदिएकी छिन्। घटनामा युवती र उनको ६ वर्षको छोराको मृत्यु भएको छ।
उनीहरुलाई बचाउने प्रयास गरेका युवतीका भाइ पनि घाइते भएका छन्।ती युवती डाक्टर दम्पत्तिको क्लिनिकमा काम गर्थिन्। पतिसँग ती युवतीको अफेयरको खबर सुनेपछि महिला डाक्टरले युवतीलाई कामबाट निकालिदिएकी थिइन्।
यसका बावजुद पनि डाक्टर र ती युवतीबीच भेटघाट जारी रहेको थियो । डाक्टरले ती युवतीलाई घर पनि किनेर दिएका थिए ।बिहीबार साँझ चार बजे डा. सीमा गुप्ता सासु सुलेखासँग पति डा. सुदीप गुप्ताकी प्रेमिका दीपा गुर्जरलाई धम्क्याउन उनको घर पुगेकी थिइन्।
दुईबीच भनाभान भएपछि डा. गुप्ताले आफूसँग साथमा ल्याएको स्प्रिटको बोतललाई फर्निचरमा खनाएर आगो लगाइदिइन्। त्यसपछि घरबाहिर आएर ढोका लगाइदिइन्।
घरभित्र यति ठूलो आगो लाग्यो कि कसैले भित्र पस्ने हिम्मत समेत गरेनन्। दीपाका भाइ २१ वर्षीय अनुजले घरमा पस्ने प्रयास गरे पनि उनी सफल हुन सकेनन्। अन्ततः घर भित्र रहेका २५ वर्षीय दीपा गुर्जर र उनको ६ वर्षीय छोराको धुँवाका कारण श्वास फेर्न नसकेर मृत्यु भयो।
दमकललाई आए पनि उसलाई आगो निभाउन करिब आधा घण्टा लागेको थियो। प्रहरीले डा. सुदीप, उनको पत्नी डा. सीमा र आमा सुलेखालाई हिरासतमा लिएको छ।
डा. सुदीपको शहरमा श्रीराम अस्पताल रहेको छ । दीपा गुर्जर करिब दुई वर्षअघि श्रीराम अस्पतालमा नै स्वागत कक्षमा काम गर्थिन्। यस दौरान उनको डा. सुदीपसँग परिचय भएको थियो। त्यसपछि दुवैबीच सम्बन्ध झाँगिएको थियो। दुईबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि डा. सीमाले दीपालाई कामबाट निकालिएकी थिइन्।