काठमाडौं– एमसीसीविरुद्ध तीन दिवसीय प्रथम श्रेणीको खेलमा नेपाल २ सय ८ रनले पराजित भएको छ। खेलको तेस्रो तथा अन्तिम दिन दोस्रो इनिङ ब्याटिङ गरेको नेपाल १ सय ८४ रनमा अलआउट भएसँगै फराकिलो हार बेहोरेको हो।
दोस्रो इनिङमा नेपालको लागि सोमपाल कामीले अर्धशतक बनाए भने सन्दीप लामिछानेले २५ रनको योगदान दिए। सन्दीप नवौं विकेटको रुपमा पवेलियन फर्कँदा सोमपाल दशौं विकेटको रुपमा आउट भएका थिए।
आठौं विकेटको रुपमा करण केसी व्यक्तिगत १८ रन बनाउँदै आउट भएका थिए। नेपालको स्कोर १२० रन हुदाँ थमसनले करणलाई एल वि डब्लुको धरापमा पारेका थिए।
३ सय ९३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ज्ञानेन्द्र मल्ललाई ६ रन, शरद भेषवाकरलाई १५ रन, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारीलाई शुन्य रनमा गुमाएको छ। त्यस्तै ओपनर राजु रिजाल ३१ रनमा आउट भएका थिए भने आरिफ शेख १९ रनमा पवेलियन फर्केका थिए।
एमसीसीले पहिलो इनिङ ३ सय ६४ र दोस्रो इनिङ १ सय ८१ रन बनाएको थियो भने नेपालले पहिलो इनिङ १ सय ५३ रन बनाएको थियो।