एजेन्सी- पछिल्लो समयमा ठूला प्रविधि कम्पनीहरू स्मार्टफोनसँगै टेलिभिजन उत्पादनमा पनि प्राथमिकताकासाथ लाग्ने गरेका छन्। यसैगरि टेक कम्पनी नोकियाले पनि स्मार्ट टेलिभिजन बजारमा ल्याउने भएको छ।
नोकियाले टेलिजिभन उत्पादन थालेको यो पहिलो पटक भने होइन। तीन दशकअघि ठूला स्क्रीन भएका टेलिभिजन समेत उत्पादन गर्ने नोकिया पछि मोबाइलमा केन्द्रीत भएपछि टेलिभिजनबाट हात झिकेको थियो। कुनै समय मोबाइल फोन बजारमा एक छत्र राज गरेको नोकियाले आधुनिक प्रविधिमा आधारित सामग्री उत्पादनमा आफ्नो कदम पुनः अगाडि बढाउन थालेको हो।
नोकियाको स्मार्ट टिभी अहिले एचएमडीले नोकिया ब्राण्डमा स्मार्टफोन सार्वजनिक गरेको जस्तै हुने प्रविधिसाइटहरूले जनाएका छन्। पुनः टेलिभिजन उत्पादनमा फर्केको नोकियाले पहिलो स्मार्ट टेलिभिजन भारतमा सार्वजनिक गर्दैछ। भारतीय रिटेल ईकमर्श कम्पनी फ्लिपकार्टले नोकिया नाममा विभिन्न श्रेणीका नोकिया नाम भएका स्मार्ट टिभीहरू लन्च गर्ने योजना लिएको छ। ब्राण्ड नाम नोकिया भएपनि फ्लिपकार्टले त्यसलाई ल्याउने छ।
नोकिया ब्राण्ड पार्टनरसिपका भाइस प्रेसिडेन्ट विपुल मेहरोट्राले भने “हामी धेरै हर्षित छौं कि भारतको नेतृत्वदायी ईकमर्श फ्लिपकार्टले पहिलो पटक नोकिया ब्राण्डमा स्मार्ट टिभीहरू भारतमा ल्याउनेछ, भारतमा हाम्रो ब्राण्डलाई गुणस्तर, डिजाइन र दिगोपनाको रुपमा विश्वास गर्ने गरिन्छ।” स्मार्ट टिभीमा जेबीएलको साउण्ड सिस्टम प्रयोग हुने बताईएको छ। भारतमा जेबीएल ब्राण्डकोे औपचारिकरुपमा पहिलो यस्तो सुरुवात हुने देखिएको छ।