कास्की– नजिकिँदै गरेको उपनिर्वाचनलाई ध्यानमा राख्दै नेपाली कांग्रेसले कास्कीमा चुनावी प्रचार मोर्चा गठन गरेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उसले ३ हजार ५ सय ५१ सदस्यीय चुनावी प्रचार मोर्चा बनाएको हाे।
कास्कीका सबै क्षेत्रमा प्रभाव जमाउनका लागि कांग्रेसले जिल्ला सभापति कृष्ण केसी संयोजक, क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला ‘मधु’ र पोखरा महानगर सभापति वजिरमान श्रेष्ठ सहसंयोजक रहेको मूल समिति गठन गरेको बताएको छ।
काकीका वडास्तरमा पनि चुनावी मोर्चा तयार गरिएको छ। कास्की क्षेत्र नं. २ को पोखरा ४ को संयोजकमा नेता तथा पूर्व मन्त्री यज्ञबहादुर थापा रहेका छन्। त्यसैगरी शुक्रराज शमाले वडा नं. ७, तारानाथ रानाभाटले वडा नं. ८, वीरेन्द्रनारायण बिजुक्छले वडा नं. ९,शारदा पौडेलले वडा नं. ११ मा संयोजकत्व गर्नेछन्।
कांग्रेसले वडा नं. १५ मा बिन्दादेवी आलेराना, १६ मा कुमार खड्का पोखरा १७ मा कृष्णबहादुर केसी, २० मा बिन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक बनाएको छ। चुनावमा जित हासिल गर्न २६ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ।
सल्लाहकारमा सक्रिय राजनीति छाडेका तर समाजमा प्रभाव जमाउन सक्ने पुराना कांग्रेसी नेतालाई पनि चयन गर्दै चुनाव जित्ने रणनीति बनाएको छ। कास्की कांग्रेसका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकहरुले आआफ्नो क्षेत्रमा पुगेर यथासक्य काम थाल्न निर्देशन दिएका छन्। खेमराजको पक्षमा कास्की कांग्रेस एक भएको र चुनाव जितेर देखाउने कास्की कांग्रेसले बताएको छ।